सोमबार, ०२ भदौ २०८२

कांग्रेसले स्वागत गरेका फरार अभियुक्तले थमनलाई गाडीबाट थुतेर मारेका थिए


काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादव नेपालीलाई कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएका छन् ।

विक हत्याका आरोपित यादव फरार भएपछि महोत्तरी जिल्ला अदालतले उनको मुद्दा मुलतवीमा राखेको छ । उनै यादवलाई देउवा सहित  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवले पार्टीमा प्रवेश गराएका हुन् । 

मधेश आन्दोलनको क्रममा २५ भदौ २०७२ मा हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा मृत्यु भएको थियो ।

विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।

जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् । उनी फरार छन् । जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।

महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएको थियो । 
यो मुद्दामा जिल्ला अदालत महोत्तरीले थुनछेक आदेशपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र चार जनालाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । दुईजना तारेख गुजारेर बसेका छन् भने १९ जना फरार छन् । फरार रहेकाहरूको हकमा भने फैसला मुलतवीमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको फैसला हुँदा कापरले भने सफाइ पाएका थिए ।

यी हुन् फरार अभियुक्त

अभियुक्तहरू रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ