- भदौ ०२, २०८१
काठमाडाैँ। झण्डै २८ वर्षको लामो समयान्तरपछि नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा ऐतिहासिक जित हासिल गर्यो। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले करिब ५ हजार ६०० मतान्तरले विजय हासिल गरेका थिए।
भण्डारीले २८ वर्षदेखि कायम एमालेको विरासतलाई मेटाउँदै कांग्रेसको सफलतालाई जीवन्त बनाए। धेरै लामो समयपछि तनहुँ-२ का कांग्रेस कार्यकर्ताले आफ्नो मेहनतलाई जितको खुसीमा समाहित गर्न पाउने अवसर पाए। यस जितसँगै नेपाली कांग्रेसलाई यस क्षेत्रमा आफ्नो प्रभुत्व यथावत राख्ने चुनौतीका साथै लामो समयदेखि नदेखिएको विकास र अधुरा कामलाई अघि बढाउनुपर्ने जिम्मेवारी पनि उत्तिकै थियो।
म सम्झन्छु र देख्छु– चुनावको विजयसँगै हामी सबै ठाउँमा विजय जुलुस मनाउन पुगेनौँ। बरु जनताको सानोदेखि समाजको ठूलो समस्या सुन्न सबैभन्दा बढी जो कोही जनतामाझ पुग्ने नेता शंकर भण्डारी नै हुन् भन्ने कुरा तनहुँ-२ का कुनै पनि मतदाताले नकार्न सक्दैनन् जस्तो लाग्छ।
तनहुँमा सक्रियतासँगै काठमाडौँको लाजिम्पाटमा सम्पर्क कार्यालय स्थापना गरी क्षेत्रदेखि केन्द्रसम्म कार्यकर्ता तथा जनताको गुनासो र समस्यालाई सुन्ने, बुझ्ने र समाधान गर्ने अभ्यास उनले सुरु गरे। नेपाली कांग्रेसबाट निर्वाचित माननीय भए पनि उनले कुनै पनि मतदाता वा जनतालाई पार्टीको आधारमा छुट्याएनन्। प्रतिशोधरहित व्यवहारका साथ सबैको कुरा सुन्ने र काम गर्ने उनको प्रयास मैले नजिकबाट देखेको छु। उनी आफ्नै पार्टीका कार्यकर्तालाई केही हदसम्म रोक्न, पर्खाउन र सम्झाउन सक्थे। तर कुनै पनि क्षेत्रभित्रका वा बाहिरका मतदातालाई निराश बनाएर फर्काएको मेरो बुझाइ र भोगाइमा छैन।
चुनाव सम्पन्न भएको मितिदेखि हालको आपतकालीन निर्वाचनसम्म आइपुग्दा उनको कार्यकाल करिब साढे दुई वर्षको थियो। ४३ वटा वडा रहेको तनहुँ-२ मा भूगोलको हिसाबले करिब ७० प्रतिशतभन्दा बढी अप्ठ्यारो पहाडी भूभागले ओगटेको छ। काम गर्ने क्रममा कतिपय ठाउँमा पटक–पटक पुगे भने कतिपय ठाउँमा अझै पुग्न नसकिएको अवस्था पनि रह्यो। प्राथमिकताका आधारमा काम गर्दा यस्तो हुन आए पनि जनताको नजरमा केही कमी–कमजोरी र गुनासोहरू थपिएका छन्।
पूर्ण कार्यकाल काम गर्न नपाउनु र आधा समयमै पुनः चुनावको स्थिति आउनुले प्रतिपक्षी दललाई ‘काम नगरेको’ भन्ने भ्रम फैलाउन सजिलो भए पनि उनले आफूले गरेका कामप्रति जनतासँग विश्वास कायम राख्दै कमजोरी स्विकार्ने र सुधार गर्ने दृष्टिकोणका साथ पुनः चुनावी यात्रामा चुनौतीलाई अवसरका रूपमा लिएका छन्।
अन्ततः साढे दुई वर्षमा सकेका काम, पुग्न सकेका ठाउँ र जित्न सकेका मनबाट हिम्मत जुटाउँदै अब नपुगेका ठाउँमा पुग्ने, मन जित्न बाँकी ठाउँमा काम गर्ने, गुनासो भएका मतदाताबाट गुनासो सुन्ने, सम्हालिन नसकेका र मन दुखेका कार्यकर्तालाई सम्हाल्ने, अधुरा कामलाई अघि बढाउने तथा देखिएका कमजोरीलाई सुधार्दै आत्मसात गर्ने अठोटका साथ अघि बढिरहेका छन्।
सुधारिएको र बदलिएको नीति लिएर अघि बढेको कांग्रेसलाई जनतामाझ बुझाउने हुटहुटीसहित सम्पूर्ण पार्टी पंक्ति क्षेत्रको बाँकी विकासको संकल्प लिएर आउँदैछ। आशा छ, आम जनताले कांग्रेस यात्रा र संकल्पलाई पूर्ण रूपमा साथ दिनेछन्।
टिप्पणीहरू: