आइतबार, २५ जेठ २०८२

शेखर काेइराला भन्छन्- शिक्षकमाथी बल प्रयाेग कुशासनकाे नमुना


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण पेश गरेको बताएका छन् ।

सरकार गम्भीर नबनेको भन्दै चिन्ता व्यक्त गरेका कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरूमा सरकारले बल प्रयोग गरेको दिन आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नाे धारणा सार्वजनिक गरेका हुन् ।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ । कक्षा १२ को परीक्षा समेत सरेको छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’

उनले एक दुई दिनमै समस्या समाधान गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

‘अब धेरै ढिला भयो । एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा छन् । २६औं दिन सरकार र शिक्षकहरूबीच झडप हुँदा थुप्रै शिक्षक घाइते भएका छन् । एक सञ्चारकर्मीसमेत घाइते भएकी छन् ।

सरकारकाे बेथितिबिरुद्ध काेइरालाले पटक पटक प्रतिक्रिया दिँदै आएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ