बुधबार, १३ साउन २०८३

सुनसरीकाे देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम


विराटनगर । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कफ्र्यु हटाइने छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ । त्यस क्रममा उनीहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गरेका थिए ।

पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्र्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगन्ज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको जानकारी दिए ।

यसैबीच, देवानगन्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले स्थानीयमा देखिएको असझदारीले भएको देवानगन्ज घटनाबाट समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको त्यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनुपर्नेमा जोड दिए । उनले द्वन्द्व, झगडा, तोडफोड, आगजनीजस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैले सद्भाव कायम गर्नेतर्फ पहल गर्न आह्वान गरे ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ