बिहिबार, २२ साउन २०८२

मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न सांसदहरूकाे माग


काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग गरेका छन्।

बैठकको आकस्मिक समयमा उनीहरूले सरकारले मधेसलाई सुक्खा भएका कारण सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिपबोरिङ र स्यालो ट्युबेल नपुग्दा समस्या भएकाले समाधान गर्न माग गरेका हुन्।

सांसद रामकृष्ण यादवले खडेरी परेको मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको पर्याप्त व्यवस्था गर्न माग गरे। केही दिनदेखि अलिअलि पानी परेर राहत भएपनि अझै आवश्यक मात्रामा पानी नपरेको उनको भनाइ छ।

सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचय पत्र २५ जिल्लामा वितरण गरिए पनि रोग लागेर उपचारका लागि पाउनुपर्ने सहयोग नपाएका बताए।

मृगौला, क्यान्सर, मेरुदण्डका पक्षघात भएका रोगीलाई सहयोग उपलब्ध गराउन पनि उनले माग गरे।

धनी मानिस पनि रोगले उपचार गर्दागर्दै गरिब हुने अवस्था भएकाले तोकिएको चार वटा रोग लागेकालाई कार्यविधि संशोधन गरेर सहयोग उपलब्ध गराउने व्यवस्था गर्न सांसद बर्तौलाले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद अमनलाल मोदीले ‘कुलिङ अफ पिरियड’, मन्त्रीहरूको लेनदेनको विषय, भिजिट भिसा प्रकरण, किसानले मल नपाएकालगायत समयसामयिक विषयमा सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिए।

सांसद रमा कोइराला पौडेलले विदेशमा दुःख पाएका नेपालीलाई स्वदेश फिर्ता गराउन पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले २० वर्षदेखि काम गरेका कर्मचारीलाई सरकारले रित्तो हात फर्काउनु राम्रो नभएको धारणा राखिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ