आइतबार, २५ जेठ २०८२

माओवादीले भन्याे- सरकारले वैधानिकता गुमाइसक्याे, एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेकाे बताएकाे छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेकोले सत्तामा रहने अधिकार नरहेकाे बताएका हुन् ।

‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ, राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन’, उनले भनेका छन् ।

प्रवक्ता सापकोटाले आसन्न संसद् अधिवेशनको प्रारम्भमा शिक्षा ऐन पारित गरेर आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन माग गरे ।

माओवादीले लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । वर्तमान सरकारको ध्यान सुशासन, भ्रष्टाचार नियन्त्रण र जनभावना सम्बोधन गर्नेतर्फ लक्षित गर्न माओवादीले सरकारसँग आग्रह गरेको छ ।

यस्ताे छ समसामयिक विषयवस्तु र वर्तमान परिस्थितिबारे माओवादीकाे धारणा

१. वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ, राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।

२. वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्र हित विपरीत छन् ।

३. अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

४. यसैगरी, आन्दोलनरत लघुवित्त पीडितहरु, सहकारी पीडितहरु, कर्मचारीहरु, चिकित्सकहरु लगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

५. हाम्रो पार्टीले गत फागुनको १२ गतेदेखि देशको सबैभन्दा होचो भाग झापाको कचनाकवलबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको छ । यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । हालसम्मको अभियानमा एक करोडको हाराहारी जनतासँग संवाद भएको छ । यस खालको अभियान इतिहासमा पहिलो भएको अभियानलाई नजिकबाट हेरिरहेकाहरूको निष्कर्ष छ । अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तरसंवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन् ।

६. परामर्श बैठकपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार सञ्चालित अभियानको नेतृत्व पदाधिकारीको टिमसहित अध्यक्ष क. प्रचण्डले गर्नुभएको छ । अभियानका क्रममाः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन, अनुसन्धान, अन्वेषण गरिएको छ । किताबी दर्शन र जीवन दर्शनको बेजोड संयोजनले अभियान निकै प्रभावकारी भइरहेको छ ।

७. भारतको जम्मु कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति हाम्रो पार्टी घोर भ्रत्सना गर्दछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ