- असार ०६, २०८०
कर्णाली । गत फागुन २३ गते बलात्कारपछि हत्या भएको भनिएको इनिशा मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको विहीबार बसेको पाँचौँ बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले इनिशा विकको हत्या प्रकरणले समाजको निकै डरलाग्दो अवस्थामा पुगेको बताए। युट्युबहरूले आफ्ना ‘भ्यूज’ र ‘सब्सक्राइबर’ बढाउने कार्यले पीडित परिवारलाई झनै पीडा बनाएको भन्दै उनले पीडित परिवारलाई न्याय पुग्नेगरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले कर्णालीका महिला तथा बालबालिकाको अवस्था निकै दर्दनाक रहेको भन्दै उनीहरूको मानवअधिकार संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गरिन् । सदस्य रनसिंह परियारले इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रक्रियालाई तीव्रता दिनुपर्ने भन्दै पीडितलाई न्याय दिलाउन र शव उठाउने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गरिन् ।
मुख्यमन्त्री यामलाल कँडेलले उक्त मृत्यु प्रकरणमा समवेदना प्रकट गर्दै पीडितपरिवारलाई भेटेको कुरालाई सामाजिक सञ्जालले बङ्ग्याएर गलत प्रचार गरेको बताए । मृत्युमाथि कुनै राजनीति र कपट नुहँदै भन्दै उनले सदनमा उठेको आवाजले पनि ध्यानाकर्षण गराएको र पीडित परिवारको न्यायका लागि कर्णाली प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
उक्त बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल गरे । त्यस्तै, सामाजिक विकास समितिका सभापति पूर्णप्रसाद चालिसेलाई कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको संशोधन प्रस्तावको प्रतिवेदन प्रस्तुत गरे । बैठकमा प्रदेशसभा सदस्यहरू बेदराज सिंह, जीतबहादुर मल्ल, देवेन्द्र शाही, बलिमाया बुढा, मिलन खड्काले आफ्नो भनाइ राखेका थिए ।
टिप्पणीहरू: