बुधबार, १८ कात्तिक २०८३

चितवनमा निहुराे टिप्न गएका महताेकाे बाघकाे आक्रमणबाट मृत्यु


नारायणगढ (चितवन) ।  बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए । सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो ।
 
 महतोसँगै गएका साथीले इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी सुरु गरिएको थियो ।
 
खोजीका क्रममा आज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ । शव नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ