- फागुन ०७, २०८१
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले शायदै सोचेका थिए, ‘कुलमान घिसिङलाई उर्जामन्त्रीका रुपमा स्वागत गर्नुपर्ला?’
अहिले परिस्थिति त्यस्तै बनेको छ। घिसिङ सोमबार उर्जामन्त्री भएलगत्तै अब शाक्यले घिसिङको निर्देशनअनुसार काम कारबाही गर्नुपर्ने छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन उर्जामन्त्री दीपक खड्काको सहयोगमा अदालतको ‘सेटिङ’मार्फत शाक्य घिसिङलाई विस्थापित गरेर प्राधिकरणमा भित्रिएका थिए।
प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएलगत्तै घिसिङलाई हटाउने उपायको खोजीमा थिए। ओली र घिसिङको मनमुटावको कारण थियो, डेडिकेटेड र ट्रंकलाइन विवाद। डेडिकेटेड र ट्रंकलाइनका सन्दर्भमा घिसिङ जसरी पनि प्राधिकरणको बक्यौता उठाउन चाहन्थे भने प्रधानमन्त्री ओली प्राधिकरण दोहान गर्ने व्यवसायीका प्रभावमा परिसकेका थिए।
पैसा तिर्न अटेर गर्ने व्यवसायीका उद्योग प्रतिष्ठानमा घिसिङको निर्देशनमा भटाभटी लाइन काट्न थालेपछि ओली थप रुष्ट हुँदै गए। अन्तत: ओलीको योजना बमोजिम शाक्य कार्यकारी निर्देशकमा बहाल भए। कुलमान बाहिरिए।
प्राधिकरणको व्यवस्थापकीय पक्षलाई सुधारेर प्राधिकरणलाई नाफामा लगेका र मुलुकलाई लोडसेडिङमुक्त बनाएका कारण आम सर्वसाधारणले घिसिङलाई ‘उज्यालोका नायक’काे उपाधि दिएका छन्।
जेनजी आन्दोलनको परिणाम भन्नुपर्छ- प्रधानमन्त्री ओलीको योजनाअनुसार कार्यकारी निर्देशकबाट बाहिरिएका घिसिङ अहिले उर्जामन्त्री नियुक्त भएका छन्। शाक्यले घिसिङकै निर्देशनअनुसार काम गर्छन् वा अन्य उपाय खोज्छन्, हेर्न बाँकी नै छ।
टिप्पणीहरू: