- मंसिर १०, २०८२
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए । जसमध्ये महिला उम्मेदवार ११ प्रतिशत अर्थात् ३३६ र पुरुष ८८ प्रतिशत अर्थात् दुई हजार ५८९ रहेका छन् ।
विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५/३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सबैभन्दा कम मुस्ताङमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको पनि आयोगको विवरणमा उल्लेख छ ।
अब निर्वाचन कार्यक्रमअनुसारका बाँकी काम क्रमशः हुनेछन् । मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने तालिका छ ।
यसपटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्भने मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
टिप्पणीहरू: