बिहिबार, १८ असार २०८३

यी हुन् आजका मन्त्रिपरिषद् बैठकका १० निर्णय


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गर्ने निर्णय गरेको छ । 
बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदसमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ