मङ्गलबार, ११ कात्तिक २०८२

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात (तस्बिरहरू)


काठमाडाैँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मुक्तिनाथ क्षेत्रमा भारी हिमापात भएको छ।

मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाे मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए।

‘मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इन्च जति जमेको अवस्था छ’, उनले भने, ‘जमिन तातो भएकाले जम्न सकेको छैन, यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्छ।’

हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न  आएका दर्शनार्थीहरुलाई कठिनाई भएको छ।

मुक्तिनाथ क्षेत्रसहित मुस्ताङको घरपझोङ गाउँपालिका, उपल्लो मुस्ताङको अधिकांश स्थानमा भारी हिमपात भएको छ।

जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोधसमेत गरेको छ।

उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो।

(तस्बिरहरू: रासस)

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ