सोमबार, २६ साउन २०८२

महालक्ष्मी विकास बैंककाे दुई करोड ८४ लाख अपचलन गर्ने चार कर्मचारी पक्राउ


खलङ्गा (दार्चुला) । ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । सो बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको रु दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको थियो । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ । 

उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै  कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ