सोमबार, १७ कात्तिक २०८२

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ।

कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो। यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातीक हमलामा परी गम्भीर घाइते भएका थिए। उनीहरु अहिले थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ