- असार ०६, २०८०
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौँ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति मंगलबार राति काठमाडौँ ओर्लिएका ती महिलाहरूको गतिविधि शङ्कास्पद देखिएपछि चेकजाँच गरिएको थियो। त्यस क्रममा उनीहरूले प्लास्टिकले बेरेर आफ्नो मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई–छिपाई ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो। भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा प्लास्टिकको र्यापसहित दुई किलो ३४८ ग्राम तौल भएको उक्त वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: