आइतबार, २५ जेठ २०८२

वातावरण दिवसमा बालबालिकाले गरे मन्दिरकाे सरसफाइ


काठमाडौँ। इलियन मेमोरियल स्कुलले मन्दिरकाे सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएकाे छ।

वातावरण दिवसको अवसरमा नागार्जुन नगरपालिका-५ मा अवस्थित इलियनका विद्यार्थीहरूले आदिश्वर मन्दिर, सीतापाइला मन्दिर र इचंगु नारायण मन्दिर परिसरमा सरसफाइ गरेका हुन्।

प्रायः जुन ५ मा मनाइने वातावरण दिवसमा बिरुवा रोपेर मनाउने परम्परा रहेपनि यस वर्ष इलियनले विद्यार्थीहरूलाई सरसफाइप्रति सक्रिय गराउने उद्देश्यका साथ विशेष कार्यक्रम आयोजना गरेको हो।

यस अभियानमा कक्षा ५ भन्दा माथिका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

विद्यालयका प्रधानाध्यापक जयराम चापागाईंका अनुसार यस्ता कार्यक्रमहरूले बालबालिकाहरूमा समूहमा काम गर्ने बानीको विकास हुनुका साथै उनीहरूलाई धार्मिक सम्पदाको संरक्षणमा जुट्न पनि प्रोत्साहन मिल्नेछ।

विद्यार्थीहरूले उत्साहपूर्वक मन्दिर परिसरमा फोहोर संकलन गरी सरसफाइमा जुटेका थिए।

यस सरसफाइ अभियानले वातावरण संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागितालाई जोड दिएको छ।

साथै, यसले विद्यार्थीहरूलाई आफ्नो समुदायप्रति जिम्मेवार बनाउन र धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व बुझाउन मद्दत पुर्‍याएको छ।

इलियन स्कुलको यो पहल अन्य विद्यालय र समुदायका लागि पनि प्रेरणादायी बन्न सक्ने प्रधानाध्यापक चापागाईंले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ