- असार ०६, २०८०
काठमाडौँ । नायक राजेश हमाललाई अभिनय गराउने भनेर वृत्तचित्र शीर्षकमा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गर्नेहरुबिरुद्ध विषेश अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको हो ।
अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगका अनुसार, राजेश हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । चलचित्र नबन्दै १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो । तर, उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ ।
बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चलचित्र निर्माणका लागि पेस गरिएका बिलहरू नै शङ्कास्पद र नक्कली रहेको तथा काम नै नगरी सरकारी रकम हिनामिना गर्न मिलेमतोमा योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको पाइएको अख्तियारको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू र अन्य प्रतिवादीहरूलाई लाभ पु¥याउने बदनियतले उक्त कार्य गरेकाले उनलाई थप सजायको समेत माग दाबी गरिएको छ ।
त्यस्तै, अरू प्रतिवादीहरूलाई पनि भ्रष्टाचार निवारण ऐनको दफा १७ र २२ बमोजिमको कसुरमा बिगो असुलउपर गरी हदैसम्मको सजाय हुनुपर्ने माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
स्थानीय तहमा भिडियो शीर्षकमा विकृति
म्युजिक भिडियो वा वृत्तचित्र शीर्षकमा रकम दुरुपयोग गर्ने ढकाली गाउँपालिका पहिलो होइन् । धेरै गाउँपालिकामा भिडियो निर्माण शीर्षकमा असुल उपर गर्ने प्रवृत्ति बढेको छ ।
जुनपालिकामा जो प्रमुख वा उपप्रमुख छ । उसले आफ्नो पार्टी निकटका कलाकारलाई पाँच लाखसम्मको भिडियो निर्माण गर्न दिने गरेका छन् । पाँचलाखसम्मको काममा अख्तियार समेत नलाग्ने हुँदा धेरैले भिडियो शीर्षकमा असुल उपर जारी राखेका छन् ।
प्राय स्थानीय तहले स्थानीय आफ्नो वारेमा परिचयात्मक भिडियो निर्माण गर्ने गरेका छन् । त्यसरी निर्माण गरिएको भिडियोले पालिकाको पहिचान कायम राख्ने भन्दा पनि कार्यकर्ता खुसी बनाउने गरेको छ । पार्टी निकट कलाकारहरुले बनाउने त्यस किसिमका भिडियो केबल झारा टार्नका लागि बनाउने गरिएको छ । स्थानीय तहको भिडियो निर्माणमा सक्रिय एक प्राविधिक भन्छन् ‘त्यस्ता भिडियो प्राय साथीभाइका मन राख्नका लागि बनाइन्छ ।’
टिप्पणीहरू: