आइतबार, ०९ कात्तिक २०८२

प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व


छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीमा यो पर्वको ठूलो महत्व छ । यस पर्वमा लाखौँ भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना गर्ने परम्परा स्थापित गरेका छन् । 

छठ केबल धार्मिक अनुष्ठान मात्र होइन, यो मानव र प्रकृतिबीचको सन्तुलन, आत्मसंयम, शुद्धता र आत्मनिष्ठाको अद्भूत अभिव्यक्ति हो, जसले जीवनलाई अनुशासन, कृतज्ञता र सहअस्तित्वको बाटोमा अग्रसर गराउँछ । छठ पर्वको केन्द्रीय तत्व सूर्य उपासना हो, जसले मानव जीवनमा प्रकृतिको अविभाज्य भूमिकाको स्मरण गराउँछ । प्राचीनकालदेखि नै सूर्यलाई जीवन, ऊर्जा, प्रकाश र सृष्टिको मूल स्रोतका रूपमा सम्मान गरिँदै आएको छ । वैदिक ग्रन्थहरूमा सूर्यलाई ‘सविता’, ‘मित्र’, ‘अदित्य’, ‘भास्कर’ र ‘रवि’ जस्ता नामले सम्बोधन गरिएको पाइन्छ, जसले सूर्यको दैवी स्वरूप र आध्यात्मिक महत्त्व उजागर गर्छ । सूर्य उपासनाद्वारा शरीर, मन र आत्मा शुद्ध हुने विश्वास रहिआएको छ, जसले आध्यात्मिक अनुशासन र आन्तरिक सन्तुलनको मार्गप्रशस्त गर्छ ।

छठपर्वको विशेषता यसको कठोर अनुशासन, आस्था र प्राकृतिक समरसतामा नीहित छ । यस अवसरमा महिला विशेषतः निराहार, जलाहार र कठोर ब्रत ग्रहण गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यो प्रक्रिया केबल धार्मिक विधि मात्र नभई आत्मसंयम, धैर्य र श्रद्धाको प्रतीक हो, जसले मानव र प्रकृतिबीचको सन्तुलनलाई पुनःस्थापित गर्छ । छठ पर्वले शुद्धता, भक्ति र निष्ठाका माध्यमबाट जीवनमा आध्यात्मिक ऊर्जाको प्रवाह गराउँछ र मानिसलाई प्रकृतिसँगको अन्तरसम्बन्ध बुझ्न प्रेरित गर्छ ।

ऐतिहासिक पृष्ठभूमि 

 छठपर्वको ऐतिहासिक पृष्ठभूमि अत्यन्त गहिरो, रोचक र प्रतीकात्मक छ, जसले यसको धार्मिक, सांस्कृतिक र आध्यात्मिक मूललाई स्पष्ट रूपले उजागर गर्छ । वैदिक ग्रन्थहरूका अनुसार राजा प्रियव्रतकी पत्नी मालिनी सन्तान नहुँदा अत्यन्त दुःखी भइन् । सन्तान प्राप्तिको आकाङ्क्षामा उनले कठोर तपस्या गरिन् र छठी देवीको कृपाले पुत्र प्राप्त भएको विश्वास रहिआएको छ । त्यस क्षणदेखि नै छठी देवीको आराधनाको परम्परा प्रारम्भ भएको जनश्रुति पाइन्छ । यो कथा मातृत्व, श्रद्धा, आस्था र भक्तिको प्रतीकका रूपमा मानिन्छ, जसले स्त्रीशक्तिको आत्मबल र सहनशीलताको गहिरो सन्देश दिन्छ । अर्को पौराणिक कथाअनुसार रामायणकालमा भगवान् श्रीराम र माता सीताले चौध वर्षको वनवास पूरा गरी अयोध्या फर्किएपछि सूर्यदेवको आराधना गरी राज्यारोहणका अवसरमा छठ पर्व मनाएको उल्लेख पाइन्छ । यस घटनाले छठ पर्वलाई धर्म, कर्तव्य र शुद्धताको प्रतीकका रूपमा प्रतिष्ठित गरेको छ । 

 त्यसैगरी, महाभारतकालमा कुन्ती र द्रौपदीले पनि छठी माईको कठोर व्रत गरी सन्तान, समृद्धि र विजयको आशीर्वाद प्राप्त गरेको जनविश्वास पाइन्छ । यी सबै आख्यानहरूले छठ पर्वलाई केबल पूजा वा विधिको सीमामा सीमित नराखी जीवन, परिवार र प्रकृतिप्रतिको कृतज्ञताको अमर अभिव्यक्ति बनाएका छन् । यस पर्वमा मानव र दैवी शक्तिबीचको सम्बन्धलाई पुनःस्थापित गर्ने गहिरो आध्यात्मिक दृष्टिकोण पाइन्छ, जहाँ सूर्यदेव र छठी माईको आराधना केबल धार्मिक कर्म नभई आत्मशुद्धि, विश्वास र सकारात्मक ऊर्जासँगको एकाकारता हो । यही कारण छठ पर्व हजारौँ वर्ष पुरानो भए पनि आज पनि समान श्रद्धा र अनुशासनका साथ मनाइन्छ, जसले हाम्रो संस्कृतिको निरन्तरता, निष्ठा र सामूहिक आस्थाको उज्यालो पहिचान दिलाउँछ ।

संस्कृति र सभ्यताको पाटो

 छठपर्व हिन्दू संस्कृति र सभ्यताको एउटा महत्वपूर्ण अङ्ग हो, जसले धार्मिक आस्था, प्राकृतिक श्रद्धा र आत्मसंयमको अद्भूत सङ्गम प्रस्तुत गर्छ । यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीसम्म अर्थात् चार दिनसम्म अत्यन्त विधिपूर्वक मनाइन्छ । यस पर्वको प्रत्येक दिनलाई विशेष अर्थ र अनुशासनसँग जोडिएको पाइन्छ, जसले मानिसलाई शारीरिक शुद्धता, मानसिक सन्तुलन र आध्यात्मिक पवित्रताको बाटोमा उन्मुख गराउँछ । पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ, जसको अर्थ नै नुहाएर पवित्रता ग्रहण गरी शुद्ध भोजन गर्ने हो । यसदिन व्रती अर्थात् ब्रत लिने महिला वा पुरुषले बिहानै उठेर नुहाउँछन्, घरको सफाइ गरी वातावरण पवित्र बनाउँछन् र खाना पकाउँदा अत्यन्त स्वच्छता पालन गर्छन् । छठको पहिलो दिनको भोजन पूर्ण रूपमा शुद्ध र निष्कलङ्क हुन्छ, यसमा अरू कसैले हात नलागेको अन्न प्रयोग गरिन्छ र खाना नुनरहित हुन्छ । 

सामान्यतया व्रतीहरूले अरवा चामल र कद्दुको तरकारी ग्रहण गर्छन् । यो प्रक्रिया केबल धार्मिक विधि मात्र होइन, शुद्धता र आत्मसंयमको प्रारम्भिक अभ्यास हो, जसले व्रतीलाई आगामी कठिन ब्रतका लागि मानसिक र शारीरिक रूपमा तयार बनाउँछ । दोस्रो दिनलाई ‘खरना’ भनिन्छ, जसको अर्थ हो ‘विशेष साझा भोजन’ । यस दिन व्रतीले बिहानदेखि साँझसम्म केही पनि खाने वा पिउने गर्दैनन् । पूर्ण उपवासमा रहँदै उनीहरू सूर्य अस्ताउने बेला जलाशयको किनारमा पुग्छन् र सूर्यलाई अघ्र्य अर्पण गरी व्रतको दोस्रो चरण आरम्भ गर्छन् । खरनाको अवसरमा तयार पारिने प्रसाद अत्यन्त पवित्र मानिन्छ, दूध, गुड, चिउरा, पिठो, घिउ र पकवानबाट बनेको विशेष परिकार तयार गरिन्छ । यस दिनको व्रत कठोर भए तापनि साँझ सूर्यास्तपछि व्रतीले श्रद्धापूर्वक प्रसाद ग्रहण गर्छन्, जसले आध्यात्मिक शान्ति र तृप्तिको अनुभव गराउँछ । खरनाको प्रसाद ग्रहण गरेपछि परिवारका अन्य सदस्यहरू, छिमेकी र आफन्तहरू पनि सो प्रसाद ग्रहण गरी शुभकामना साटासाट गर्छन्, जसले पारिवारिक सद्भाव, सहकार्य र एकताको वातावरण सिर्जना गर्छ ।

तेस्रो दिनलाई छठ पर्वको सबैभन्दा महत्वपूर्ण र भव्य दिन मानिन्छ, जसलाई ‘सन्ध्या अघ्र्य’ वा ‘साँझको अघ्र्य’ भनिन्छ । यस दिन व्रती महिलाहरू वा पुरुषहरूले बिहानैदेखि अन्न–जल त्याग गरी पूर्ण उपवासमा रहन्छन् र केवल भक्ति, साधना र ध्यानमा लीन हुन्छन् । साँझ पर्नासाथ जब सूर्य अस्ताउन लाग्छ, त्यही बेला व्रतीहरू नदी, पोखरी, तलाउ वा कुनै पनि पवित्र जलाशयमा पुग्छन् । हातमा बाँसको डोको वा सुपमा विभिन्न प्रकारका प्रसादहरू जस्तै दूध, जल, कमलका फूल, ठेकुवा, थियोरा, सखर, केरा, डाबर, अदुवा आदि सपरिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ । यो क्षण अत्यन्त भावनात्मक, आध्यात्मिक र भव्य हुन्छ, जसमा श्रद्धा, भक्ति र समर्पणको गहिरो अनुभूति हुन्छ । जलाशयको किनारमा सयौँ दियो बालिन्छन्, रङ्गीन तोरण र बत्तीहरूले पूरै वातावरण उज्यालो हुन्छ, र भक्तजनहरूको भीडबाट निस्कने ‘जय छठी माई’ का जयघोषहरूले आकाश गुञ्जायमान हुन्छ । महिलाहरू परम्परागत पहिरनमा सुसज्जित भएर अघ्र्य दिने क्रममा जलमा अडिन्छन् र सूर्यलाई हात जोडी आराधना गर्छन् । यो क्षण केवल पूजा मात्र होइन, आत्मशुद्धि र प्रकृतिप्रतिको गहिरो कृतज्ञताको प्रतीक हो । यस दिनको वातावरणले मानिसलाई जीवन र प्रकृतिबीचको सम्बन्धबारे आत्मचिन्तन गर्न प्रेरित गर्छ ।

चौथो दिन बिहान सबेरै ‘उषाकालीन अघ्र्य’ अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि सम्पन्न गरिन्छ । यस दिन व्रतीहरू पुनःनदी, पोखरी वा तलाउमा पुग्छन् र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यो क्षण सृष्टिको पुनर्जागरण र नयाँ ऊर्जाको प्रतीकका रूपमा मनाइन्छ । जब पहिलो सूर्यकिरण जलाशयमा पर्छ, व्रतीहरूले आफ्ना हातहरू जलमा डुबाएर अघ्र्य चढाउँछन् र परिवारका सन्तान, स्वास्थ्य, समृद्धि, शान्ति र दीर्घायुका लागि प्रार्थना गर्छन् । यस क्षण व्रतीहरूको अनुहारमा देखिने आध्यात्मिक तेज र भक्ति भावना अद्वितीय हुन्छ । अघ्र्य दिएपछि घर फर्केर पूजा सम्पन्न गरिन्छ र ‘पारण’ अर्थात् ब्रत तोड्ने प्रक्रिया गरिन्छ । पारणका बेला व्रतीले पहिलोपटक केही खाने अनुमति पाउँछन्, र त्यसपछि घरका सबै सदस्यहरू, आफन्त र छिमेकीहरूलाई प्रसाद बाँडिन्छ । यसरी चार दिनसम्म निरन्तर अनुशासन, पवित्रता र संयमपूर्वक मनाइने छठ पर्व धार्मिक भक्ति मात्र होइन, जीवनमा अनुशासन, स्वच्छता, आस्था र आत्मसंयमको प्रशिक्षण पनि हो । 

 यस पर्वले मानिसलाई प्रकृतिसँग सन्तुलनमा बस्न सिकाउँछ, संयम र धैर्यका गुण विकसित गर्छ र परिवार तथा समाजमा एकता र सद्भाव बढाउँछ । छठ पर्वको हरेक दिन, हरेक चरण र हरेक अनुष्ठानमा आध्यात्मिक दर्शन र वैज्ञानिक औचित्य निहित छ, जसले यो पर्वलाई अन्य पर्वभन्दा विशिष्ट बनाएको छ । यसरी चार दिनसम्म चल्ने छठ पर्वले मानव जीवनमा श्रद्धा, अनुशासन र आत्मशुद्धिको गहिरो सन्देश दिन्छ, जहाँ सूर्यलाई अघ्र्य अर्पण गर्नु भनेको केवल देवताको आराधना होइन, जीवनदात्री प्रकृतिप्रति कृतज्ञता प्रकट गर्नु हो, र यही आस्थाले छठ पर्वलाई युगौँदेखि जीवित र प्रेरणादायी बनाइरहेको छ ।

सूर्य र प्रकृतिको सम्बन्ध

छठ पर्व मनाउने मुख्य कारण सूर्य र प्रकृतिप्रतिको गहिरो आस्था हो । सूर्य मानव जीवनको आधार, ऊर्जा, ताप र प्रकाशको अनन्त स्रोत हो, जसको बिना पृथ्वीमा जीवनको अस्तित्व असम्भव हुन्छ । जल, वायु, अग्नि, पृथ्वी र आकाश—यी पाँच तत्वहरूमा सूर्यको प्रत्यक्ष प्रभाव रहने भएकाले सूर्यको आराधना गर्नु भनेको सम्पूर्ण सृष्टिप्रति कृतज्ञता प्रकट गर्नु हो । छठ पर्व यही भावनाको सर्वोच्च प्रतीक हो, जसमा व्यक्ति आफ्नो आत्मालाई शुद्ध गर्दै प्रकृतिसँग आत्मिक सम्बन्ध स्थापित गर्छ । यो पर्व आत्मसंयम, शुद्धता र समर्पणको माध्यम हो, जसले व्यक्ति र विश्वबीचको सन्तुलन कायम राख्ने सन्देश दिन्छ । 

 धार्मिक दृष्टिले, छठ पर्वमा नशा, क्रोध, लोभ, राग, द्वेष र अहंकार त्यागेर आत्मशुद्धिको अभ्यास गरिन्छ । वैज्ञानिक दृष्टिले पनि यसको गहिरो औचित्य छ । सूर्यको किरणले शरीरमा विटामिनडी उत्पादन गर्छ, जसले हड्डीलाई बलियो र रोगप्रतिकारक शक्ति सुदृढ बनाउँछ । बिहान र साँझको समयमा सूर्यको किरण तुलनात्मक रूपमा कोमल हुने भएकाले त्यस समयमा अघ्र्य दिने स्वास्थ्यकर मानिन्छ । जलाशयको किनारमा बसेर ध्यानपूर्वक अघ्र्य दिने परम्परा वास्तवमा ध्यान र योगको रूप हो । उपवास र निराहार रहँदा शरीरको पाचन प्रणालीलाई विश्राम मिल्छ र विषाक्त पदार्थ निष्कासित हुन्छ, जसले शरीर र मन दुवैलाई सन्तुलित बनाउँछ ।

छठ पर्वको अर्को विशेषता सामाजिक एकता, समानता र सहअस्तित्व हो । यो पर्व जात, धर्म, वर्ग, भाषा वा लिङ्गको विभाजनभन्दा पर उठेर सबैलाई एउटै सूत्रमा बाँध्छ । गाउँदेखि सहरसम्म, सबै मानिस एउटै घाटमा पुगेर सूर्यलाई अघ्र्य दिन्छन् । त्यस क्षणमा कुनै भेदभाव हुँदैन–धनी वा गरिब, उच्च वा नीच, सबै एउटै पानीमा उभिएर समान श्रद्धा व्यक्त गर्छन् । यसले सामूहिक सद्भाव, सहकार्य र सामाजिक बन्धनलाई बलियो बनाउँछ । छठ पर्वले “सबै धर्म र जातका मानिसहरू एउटै आकाश मुनि समान रूपमा प्रकृतिको पूजा गर्न सक्छन्” भन्ने सार्वभौमिक सन्देश दिन्छ । यसै कारण यो पर्वले समुदायबीच पारस्परिक सम्मान र सद्भाव बढाउने काम गरेको छ । छठ पर्वको तयारी स्वयंमा सामूहिक प्रयासको उत्कृष्ट उदाहरण हो–घर सफा गर्ने, घाट सजाउने, बाटोमा दियो बाल्ने, प्रसाद तयार गर्ने सबै कार्य सामूहिक रूपमा गरिन्छ । यसले सामाजिक सहभागिता र पारिवारिक सहकार्यको भावना जगाउँछ ।

 छठ पर्वमा तयार गरिने प्रसादहरूको पनि गहिरो सांकेतिक अर्थ छ । ठेकुवा, थियोरा, मालपुवा, केरा, गुड, सातु, डाबर, गहुँ र चिउरा जस्ता प्राकृतिक वस्तुहरू प्रयोग गरिन्छ, जसले शुद्धता र स्वावलम्बनको सन्देश दिन्छ । यी सबै वस्तुहरू स्थानीय रूपमा उत्पादन गरिन्छन्, जसले ग्रामीण अर्थतन्त्रलाई पनि सहयोग पु¥याउँछ । बाँसका डोका, सुप, माटाका कलश र ढकनी प्रयोग गरिन्छ, जसले वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिन्छ । यसरी छठ पर्व केबल धार्मिक नभई आर्थिक र पर्यावरणीय दृष्टिले पनि सन्तुलित परम्परा हो । 

 सांस्कृतिक रूपमा यो पर्व लोकगीत, नृत्य र भक्ति भावनाले भरिएको हुन्छ । मैथिली, भोजपुरी, थारु र अवधी भाषामा रचिएका छठ गीतहरूले वातावरणलाई भक्ति र मातृत्वको भावनाले ओतप्रोत बनाउँछ । ‘उग हो सुरज देव’ जस्ता गीतहरूले मानव र प्रकृतिबीचको सम्बन्धलाई काव्यात्मक ढङ्गले व्यक्त गर्छन् । महिलाहरू रातो साडी, सिन्दुर, पातलो टीका र परम्परागत गहनामा सुसज्जित भएर पूजा गर्छन्, जसले मातृत्व र श्रद्धाको सौन्दर्य झल्काउँछ । पुरुषहरू व्यवस्थापन, सजावट र घाटको तयारीमा सक्रिय रहन्छन्, जसले लैङ्गिक सहयोग र पारिवारिक सन्तुलन देखाउँछ ।

फेरिएको छठ पर्वको स्वरूप

समयको परिवर्तनसँगै छठ पर्वको स्वरूप पनि विकसित हुँदै गएको छ । पहिले यो पर्व ग्रामीण सीमाभित्र मात्र सीमित थियो, तर अहिले सहरहरूमा पनि यसको भव्यता देखिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, वीरगञ्जलगायत सहरमा हजारौँ श्रद्धालु नदी, पोखरी र कृत्रिम तालमा पूजा गर्न जम्मा हुन्छन् । स्थानीय सरकार, स्वयंसेवी संस्था र समुदायले सफाइ, सुरक्षा र प्रकाश व्यवस्थाको जिम्मा लिन्छन्, जसले नागरिक जिम्मेवारी र सहकार्यको भावना फैलाउँछ । छठ अब केबल धार्मिक उत्सव नभई सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको प्रतीक बनेको छ । तर, आधुनिकतासँगै केही चुनौतीहरू पनि बढेका छन् । जलाशयको प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग र कृत्रिम सामग्रीको प्रयोगले पर्वको पवित्रता घटाएको छ । प्राकृतिक बाँस, माटो, घिउ र कपासका वस्तुको प्रयोग घट्दै गएको छ, जसले वातावरणीय संकट निम्त्याउन सक्छ । त्यसैले छठ पर्वको मौलिकता जोगाउन वातावरणमैत्री अभ्यास गर्नुपर्छ–प्लास्टिकको प्रयोग घटाउने, जलाशय सफा राख्ने, र प्राकृतिक प्रसाद र सामग्री प्रयोग गर्ने ।

 छठपर्व महिलाको शक्ति, संयम र आत्मबलको प्रतीक हो । चार दिनसम्म निराहार रहँदा पनि महिलाहरूको श्रद्धा, धैर्य र समर्पण अटल रहन्छ । उनीहरूको अनुशासन, आत्मसंयम र आस्था अद्वितीय हुन्छ । यो पर्व केवल धार्मिक विधि होइन, आत्मबल र मानसिक स्थैर्यको परिक्षा हो । यसले महिलाको आध्यात्मिक शक्ति र मातृत्वको गरिमा उजागर गर्छ । त्यसैले छठलाई “स्त्रीशक्ति र श्रद्धाको सर्वोच्च अभिव्यक्ति”, पनि भनिन्छ । यो पर्वमा पुरुष र महिला दुवैको समान सहभागिता देखिन्छ, जसले पारिवारिक समरसता बलियो बनाउँछ ।

 छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको समन्वय पनि प्रदर्शन गरेको छ । तराई क्षेत्रको मौलिक परम्परा अब देशव्यापी रूपमा फैलिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यपूजाको महत्व बुझ्दै छठ मनाउने चलन बढ्दै गएको छ । यसले क्षेत्रीय भिन्नतालाई कम गर्दै साझा संस्कृतिको पहिचान स्थापित गरेको छ । तराईको गीत, रीतरिवाज र संस्कार काठमाडौँसहित अन्य भागमा फैलिँदा सांस्कृतिक आदानप्रदानको सुन्दर पुल बनेको छ । यसरी छठ पर्वले देशलाई भावनात्मक रूपमा एक सूत्रमा बाँध्ने माध्यम बनेको छ । 

छठ पूजा केबल धार्मिक अनुष्ठान होइन, यो जीवन, प्रकृति र आत्माको समन्वयको दर्शन हो । सूर्यप्रति कृतज्ञता, आत्मशुद्धि र संयमकामाध्यमबाट मानिस प्रकृतिसँग पुनःजोडिन्छ । आधुनिक जीवनको भीडभाड र कृत्रिमताबीच छठपर्वले मानिसलाई आफ्नो मूल आत्मासँग, प्रकृतिसँग र आध्यात्मिक चेतनासँग पुनःएकाकार हुन प्रेरित गर्छ । यो पर्वले सन्देश दिन्छ, साँचो भक्ति बाह्य प्रदर्शनमा होइन, अन्तरिक पवित्रता, कृतज्ञता र आत्मसंयममा नीहित छ । जब लाखौँ मानिस सूर्यास्त र सूर्योदयका बेला नदी किनारमा उभिएर एकैस्वरमा प्राथना गर्छन्, त्यो क्षण मानवता, श्रद्धा र सामूहिक एकताको अद्भूत दृश्य हुन्छ । यसरी छठ पर्वले केबल सूर्यको पूजा मात्र होइन, जीवनप्रतिको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता र आत्मिक शुद्धताको मार्ग पनि देखाउँछ । यही कारण, छठपर्व आज केबल एउटा धार्मिक उत्सव होइन, मानवीय सभ्यताको आध्यात्मिक उत्सव बनेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ