आइतबार, २५ जेठ २०८२

मसूद अजहरका परिवार १० सदस्यसहित १४ जनाको भारतीय हवाई आक्रमणमा मृत्यु


अतिवादी संगठन जैश–ए–मोहम्मदले भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ ।

यस सम्बन्धमा, जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ कि मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेका छन् ।

जैश–ए–मोहम्मदले यो पनि भन्यो कि मसूद अजहरका तीन नजिकका सहयोगीहरू र ती सहयोगीहरूमध्ये एककी आमा आक्रमणमा मारिएका थिए ।

विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको छ ।

फेब्रुअरी २०१९ मा, जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थिए, जसमा ४० सैनिक मारिएका थिए ।

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको बताइन् ।

उनले भनिन् ‘यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो ।’

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको बताएको छ भने भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ