- असार ०७, २०८०
काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बालमन्दिरको जग्गा हिनामिनामा सरकारले मुद्दा चल्ने भएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेकाे महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फाइल पेश गरेको थियो । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझावमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने राय पेश गरेको थियो । जनस्तरमा चर्को विरोध भएपछि अहिले महान्यायाधिवक्ताले फाइल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरिएको हाे ।
महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।
असहाय बालबालिकाको हेरचाह र संरक्षणका लागि सञ्चालित बालमन्दिरको जग्गा दुरुपयोग सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारकै पालामा सीआईबीले अनुसन्धान गरेर मुद्दा चलाउने निर्णय गरेको थियो । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि मुद्दा अलपत्र पारिएको थियो ।
बाल संगठनको अहिलेको नेतृत्वले अघिल्लो वर्ष वैशाखमा दिएको जाहेरीको आधारमा सीआईबीले अनुसन्धान गरेको थियो ।
२०४८ मा बाल संगठनको अध्यक्ष भएकी रिता सिंह २७ वर्षसम्म सोही पदमा कायम रहिन् । उनैको पहलमा २०४९ सालमा बृहस्पति विद्यासदनलाई बाल संगठनको जग्गामा प्रवेश गराएकी थिइन् । बालमन्दिरको २९ रोपनी ४ आना जग्गा ४९ वर्षका लागि भाडामा दिएकी थिइन् । उनले गरेको सम्झौताअनुसार बृहस्पतीले वार्षिक ९० लाख रुपैयाँ बाल संगठनलाई बुझाउँछ । यो भनेको महिनाको ७ लाख ५० हजार हो । जबकी बालसंगठन रहेको क्षेत्र काठमाडौंमा महंगो ठाउँमध्ये पर्छ । एक रोपनी जग्गाकै भाडा मासिक लाखौँ रुपैयाँ पर्न आउँछ ।
त्यति मात्रै हैन आफूले भाडामा लिएकोमध्ये पाँच रोपनी जग्गा बृहस्पतीले भारतीय बोर्डको राय स्कुललाई दिएको छ । राय स्कुलबाट उसले वार्षिक ६० लाख रुपैयाँ भाडा लिँदै आएको छ ।
रिता सिंहसँग गरेको सम्झौता अनुरुप नै अहिले बृहस्पती विद्यासदन बालमन्दिरकै जग्गामा सञ्चालित छ ।
जग्गा भाडा प्रकरण सार्वजनिक भएपछि सरकारले पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेपछि सिंह बर्खास्त भएकी थिइन् ।
नातामा गणेशमान सिंहकी छोरी रिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेख इद्रिस समाज कल्याणमन्त्री भएको बेला बाल संगठन अध्यक्षमा नियुक्त भएकी थिइन् । सत्ता र शक्तिको आडमै उनले अनाधिकृत गतिविधि सञ्चालन गरेकी थिइन् ।
टिप्पणीहरू: