बुधबार, १६ वैशाख २०८३

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू


तस्विर : एआई

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा चेतनाको विगुल फुक्ने बेला हुन्छ अनि आर्थिक तथा सामाजिक विकासका लागि आह्वान गर्नुपर्ने हुन्छ त्यतिबेला गुञ्जने गीत हो 
        गाउँगाउँबाट उठ
        बस्तीबस्तीबाट उठ..., 
        यस्तै अर्काे सुर पनि गुञ्जिन्छ 
        आउ मिलाउँ हाम्रा हातहरू
        न्याय र समानताका लागि...।

विसं २०३१ मा लेखिएको र ४० को दशकमा रेकर्ड भएको गाउँगाउँबाट उठका रचना तथा सङ्गीत श्याम तमोटको हो भने रामेशलगायत साथीहरूको स्वर छ । त्यसपछि दर्जनौँ भर्सनमा गीत आइसकेको छ । प्रमोद हमालको सङ्गीत तथा रामेश रायनको स्वर रहेको आउ मिलाउँ हाम्रा हातहरू... होस् या मणि थापाको रचना र         
    सङ्गीत रहेको गीत 
    भेटेर तिमीलाई सोधुँसोधँु लाग्यो
    लेखेर तिम्रो गीत गाउँगाउँ लाग्यो
    प्यारो जलजला...

होस् । यी गीतहरूमा नेपाली माटो, जीवन, सङ्घर्ष, प्रकृति, राष्ट्रियता, स्वतन्त्रता र एकता बोलिरहेको छ । यस्ता गीतहरूले समाज बदल्नलाई ठूलो योगदान गरेका छन् । हरेक नेपालीको मुखमा झुण्डिएर बसेका यस्ता प्रगतिशील सुरहरू यसपालि एकैठाउँमा पस्किने जमर्काे भइरहेको छ । 

तीनै गीतहरूलाई समेटेर यसपाली प्रगतिशील सुरहरू जलजलाको फेदमा प्रस्तुत हुँदैछ । नेपालको इतिहासमै पहिलोपटक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा रोल्पा कला साहित्य प्रतिष्ठान काठमाडौँको सहआयोजनामा रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ हुन लागेको हो ।

प्रकृतिको मनोरम क्षेत्र रङ्गीचङ्गी फूल र प्राकृतिक छटाले स्वर्गको टुक्राजस्तै देखिने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजलाको फेदीमा वैशाख १९ र २० गते प्रगतिशील सुरहरू गुञ्जिँदै छन् । गाउँगाउँबाट उठ र आऊ मिलाउँ हाम्रा हातहरू... त ४५ जना प्रगतिशील कलाकारहरूले एकै स्वरमा पस्किन लागेका प्रतिष्ठानकी सदस्यसचिव तथा उत्सव संयोजक कुश्मा महरा प्रगतिले बताए ।

समाज रूपान्तरण र नेपालको राज्यव्यवस्था नै परिवर्तनका लागि विभिन्न चरणमा चलेका सामाजिक जागरणका सचेत अभियानमध्येको एक मत्त्वपूर्ण केन्द्र रोल्पा, थवाङ हो । जहाँ त्यस दिन सङ्गीतका तरङ्गहरूले सामाजिक यथार्थ बोल्ने छन् । हरेक मनका ढुकढुकी परिवर्तनको झन्कारका रूपमा व्यक्त हुनेछन् । 

नेपाली समाज, सुन्दर समाज अनि समृद्ध समाजको भाकामा गुन्जिनेछन् र अग्रगामी चेतनाको आवाज घन्किने छ । इतिहासदेखि नै नेपाली समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको, समाज विकासका हरेक घुम्तीमा काँध थाप्ने हिम्मत भएको, हरेक सुरहरूको पनि सुर तर सधैँ ओझेल परेको साङ्गीतिक धारा हो प्रगतिशील सङ्गीत । 

प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने, तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्य रहेको छ ।

प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए ।

समाज रूपान्तरणको चेतना बोकेको प्रगतिशील साङ्गीतिक धारालाई केन्द्रमा राखिएको बताउँदै संयोजक महराले भने, “यसलाई केबल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र सांस्कृतिक जागरणको सशक्त साधनका रूपमा स्थापित गर्ने लक्ष्य छ, समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिहरूविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले हो ।”

हरेक कला प्रगतिशील हुन्छ, नाटक गर्दा केही न केही समाजका लागि गरिएको हुन्छ । गायकले गीत गाउँता त्यसका शब्दमा समाज बोलिरहेको हुन्छ । 

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलल भन्छिन्, “त्यसैले यस्ता गीत सङ्गीत कलाको समुचित प्रवद्र्धन र प्रवर्द्धन गर्नुपर्छ, ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात गर्दै उक्त उत्सवले साङ्गीतिक अभिव्यक्तिलाई अझ सशक्त बनाउने छ ।”

यस उत्सवको पहिलो दिन १९ गते उद्घाटन समारोहसँगै सहभागी प्रगतिशील क्षेत्रका कलाकारहरूको सांस्कृतिक परिचय तथा विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला तथा प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित ‘प्यानल डिस्कोर्स’ गरी नेपालमा प्रतिशील सङ्गीतको भूमिका र महत्वको निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

यस्तै वरिष्ठ प्रगतिशील गीतकार, सङ्गीतकार तथा गायकहरूको बेजोड प्रस्तुतिसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ समापन गरिनेछ । झण्डै ४५ कलाकारहरू सहभागी हुनेछन् । अन्य सहभागीहरूसहित २०० को हाराहारीमा उपस्थिति हुने अनुमान गरिएको छ ।

उत्सवमा देशभरका प्रगतिशील गीत–सङ्गीतका अग्रज कलाकारहरू, उदीयमान प्रतिभाहरू, सांस्कृतिक समूहहरू, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका उपकुलपति शम्भु राईले बताए ।

यस्तै महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायहरूको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइने र त्यसले समावेशी सांस्कृतिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । उपकुलपति राईले प्रगतिशील गीत सङ्गीत संरक्षणको अभावमा कलाकारसँग हराएर गइरहेका सन्दर्भमा यस्ता कार्यक्रमले केही प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।

ऐतिहासिक, सामरिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको रोल्पा प्रगतिशील विचार र सामाजिक चेतनाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ ।

त्यसैले यस स्थानमा आयोजना हुन लागेको उत्सवले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको छ । यस उत्सवले स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृतिका क्षेत्रमा सम्भावनाका ढोका खुल्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

उत्सवमार्फत प्रगतिशील गीत–सङ्गीत क्षेत्रका अग्रज तथा नयाँ पुस्ताबीच सांस्कृतिक सेतु निर्माण गर्ने, सामाजिक एकता र समावेशितालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने र प्रगतिशील साङ्गीतिक धारा राष्ट्रको मूल साङ्गीतिक प्रवाह भएकाले पहिचान स्थापित गर्दै अन्तरराष्ट्रियस्तरमा नेपालको साङ्गीतिक छवि स्थापित गर्ने दीर्घकालीन उद्देश्य पनि यस उत्सवसँग जोडिएको संयोजक महराले बताए ।

 संस्कृति राष्ट्रको पहिचान, अस्तित्व र विकासको आधारभूत स्तम्भ हो । गीत, सङ्गीत, नाटक र नृत्यजस्ता विधाहरू नेपाली संस्कृतिलाई पूर्णता दिने मूल आधार हुन् ।

यी आधारहरूले समाजलाई जोड्ने, अग्रगामी चेतना फैलाउने तथा सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसले नेपाली समाजमा थप सकारात्मक सोच, सहकार्य र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत र समावेशी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । उत्सवको तयारीका लागि संयोजक महरा थवाङ पुग्नुभएको छ । उहाँले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ