शनिबार, १० साउन २०८२

जब प्रचण्डले बेल्चा उठाए


काठमाडौं । प्राय कोट पाइन्ट र टाइमा देखिने माओवादी अध्यक्ष प्रचण्ड बिहीबार ट्राउजर र टिसर्टमा थिए । टिसर्ट बाहिर श्रमिकले लगाउने हाफ वीनसिटर लगाएका थिए ।

बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गर्न पुगेको प्रचण्डले साबेल (बेल्चा)मा माटो उठाएर ठेला गाडामा राखे, मेसिनले घाँस काटे अनि रंग पनि लगाए ।

त्यसपछि सुरु भयो औपचारिक कार्यक्रम । वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ । त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।’ उनले भने ‘यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु ।’

सम्बोधनका क्रममा प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गर्नुभयो । संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले भने ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ ।’
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ