- भदौ ०१, २०८१
काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शक भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले चलचित्र मन पराइरहेको बताएका हुन् ।
“सिनेमा हेर्न आउनु भएका दर्शकले चलचित्र राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले सिनेका मन परेको बताउनु भएको छ,” हरिवंशले भने, “फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने चलचित्र भन्नु भएको छ ।”
सुरुमा सिनेमाको विषयमा आएको विवादबारे उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको प्रस्ट पारे । चलचित्र रिलिज भएपछि यो प्रमाणित भएको बताए । “धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन,” हरिवंशले भने, “कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन ।”
सिनेमा हेर्न दर्शकले धर्मका विषयलाई लिएर त्यस्तो नराम्रो केही पनि नरहेको बताएको पनि उनले प्रस्ट पारेका छन् ।
बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुली सम्पादन तथा रङ्ग सम्पादन, सम्राट बस्नेत द्वन्द्व निर्देशन, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ ।
टिप्पणीहरू: