शुक्रबार, ३१ असोज २०८२

उषाकिरणकाे प्रश्न : दुर्गा प्रसाईंलाई भित्र्याएकाे विषयमा आत्मालाेचना गर्न पर्दैन ?


काठमाडाैं । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले केपी ओली अध्यक्ष भएकाे ११ वर्षमा भएका अभ्यासमा समिक्षा हुन पर्ने बताएकी छिन् । 

जारी केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सूर्य चिन्हमा ककसले चुनाव लडे भन्दै दुर्गा प्रसाईलाई केन्द्रिय सदस्य बनाएकाे सन्दर्भ समेत स्मरण गराईन् । उनले बैठकमा १० बुँदामा आफ्नाे धारणा राखिन् ।

-विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स- साना नानीहरूको कत्लेआम भयो। खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेडरू ?  

– यतिखेर हामी कुन कन्स्पिरेसीको कुरा गरिरहेका छौँ? कुन-कुन वैदेशिक निकायहरू हुन् एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ? 

– कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता- कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौं ? एक पल्ट सम्झिऊँ , नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो ।

– एक पल्ट यो पनि सम्झिऊँ सूर्य  चिन्हमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता  चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ?

– तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसबारे यहाँ कसैले कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?  

– २०७९ को निर्वाचनपछि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । अस्ति भदौ २३-२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो जेन-जी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले  बिदा लेऊ भन्ने तनै हो।  त्यसलाई अनदेखा गर्न अब सकिन्न । 

– हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरू भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली। 

–  देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई ट्रयाक (बाटो)मा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ।  यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन । अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरने छ। 

– अन्यथा नलिनु होला ( मीनबहादुर गुरुङको सम्पत्तीमाथि हमला भयो,  क्षति भयो, त्यसैले सहयोग गर्ने निर्णय गरौँ । 

– कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४) त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिङ्गो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ