- असार ०६, २०८०
कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताएका छन् ।
आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको बताए । अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनले स्पष्ट पारे । त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोचविचार गरेर निर्णय गरेको उनको भनाइ छ ।
सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक भएको उनले बताए । राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधि सभाको सदस्यबाट नै राजिनामा दिनु पर्ने तर सभामुख प्रतिनिधि सभाको सदस्य हुने कुराले यी दुई बिचको फरक छुट्याउन सकिने उनको धारणा छ । ‘अरू सम्माननीयको भूमिका भन्दा राष्ट्रपति र उपराष्ट्रपति भूमिका फरक हुन्छ’, उनले भने ।
पार्टी भित्र हुर्कँदै गएको अवसरवाद पार्टीको लागि घातक भएको उनले बताए । एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै उनले त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्नसक्नु पर्ने बताए । ‘मिसन २०८४ लाई सफल गराउने हो भने पार्टी भित्र रहेको अवसरवादलाई जित्न सक्नु पर्दछ’, उनले भने ।
कुनै पनि पार्टीलाई बलियो बनाउन अनुशासन र एकता बलियो बनाउनु पर्ने उनकाे भनाई छ । ‘अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी बलियो बन्न सक्दैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ, अवसरवाद र अराजकता पार्टी निर्माणका समस्या हुन्’, उनले भने ।
पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनु पर्ने बताउँदै उनले पार्टीमा चुनावको बेलमा धोका दिने प्रवृत्ति मौलाएको बताए । ‘अघि पछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन’, उनले भने ।
भीम रावललाई पार्टीमा राख्न धेरै प्रयत्न भएको बताउँदै उनलाई उपाध्यक्ष बनाउने कुरामा सर्वसम्मति जुटेको भए पनि अध्यक्षमा चुनाव लडेर हारेपछि पार्टी र नेतृत्व विरुद्ध अनेक खालका आक्षेप लगाउँदै हिँडेका पोखरेलले बताए । पार्टीसँग व्यक्ति टकराउने कुरा मान्य नहुने उनले स्पष्ट पार्नुभयो । ‘अराजकता कहिल्यै पनि पार्टीको हितमा हुँदैन’, पोखरेलले भने ।
उहाँले पार्टी भनेको सामूहिकताको उपज भएको बताउनुभयो । आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा पार्टीमा सम्भव नभएको पोखरेलको भनाइ छ ।
सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका भरमा पनि पार्टी र देश चलाउन नसकिने उनले बताए । आज सामाजिक सञ्जालबाट लोकप्रिय हुन चाहनेहरू एमालेको संगठन देखेर जलेका र एमाले विरुद्ध कुप्रचारमा लागेका उनको भनाइ छ ।
टिप्पणीहरू: