- असार ०७, २०८०
काठमाडौँ । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । शनिबार देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम आज आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो ।
आइतबारदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमासमेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।
वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताए। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिइन् ।
आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत सार्वजनिक अनुरोध गरेको छ ।
तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् । उनका अनुसार आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ । सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।
टिप्पणीहरू: