- असार ०६, २०८०
काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै दुःख दिएको छ ।
अतिक्रमित बस्ती खाली गरिएपछि बाहिर राखिएका सुकुम्वासीका सरसामान तथा ओड्नेओछ्याउने लुगाकपडादेखि अन्य दैनिक उपभोगका सामग्री भिजाउँदा उनीहरू विचल्लीमा परेका हुन् । आइतबार साँझ परेको वर्षाका कारण सुकुम्वासीले बाहिर खुला चौरमा राखेका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत सरसामान सबै भिजाएको छ । बस्ती खाली गरिएपछि गैरीगाउँ–सिनामङ्गलमा बसोबास गर्ने अधिकांशलाई डेरा खोज्न कठिन भइरहेको छ भने कतिपयले सामान सुरक्षित राख्न ठाउँ नपाउँदा खुला आकाशमुनि छन् ।
अस्थायी रूपमा चौरमा सामान राख्दा वर्षाले उनीहरूका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडालगायत भिजाएको स्थानीयवासी कमल अधिकारीले जानकारी दिए। उनले भने, “धेरैजसो मानिसहरू पहिले नै अन्यत्र गइसकेका छन्, तर कतिपय यही नै बसेका कारण वर्षाले उनीहरूको खाद्यान्न, लुगा र सरसामान सबै भिजायो, अवस्था निकै दयनीय छ ।”
यहाँ बसेका कतिपय सुकुम्वासी सामान लगेर अन्त जानसक्ने हैसियतका नभएका र कतिपय काठमाडौँ बाहिरका भएकाले काठमाडौँमा अहिले डेरा नपाएका कारण सामान यही राखेर डेरा खोजेपछि केही दिनमा जाने तयारीमा रहेका उनको भनाइ छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा रहेका सुकुम्वासीहरूका सरसामान शनिबारदेखि आज दिनभरि साना गाडीले ओसार्दा पनि अझै ओसार्न नसकिएको मिनीट्रक चालक दोलखाका किशोर तामाङले बताए ।
उनले भने “कतिपय परिवारका सामान तीन–चार ट्रिपसम्म हुने गरेका छन्, त्यसैले सबै ओसार्न समय लागिरहेको छ । केहीले अझै डेरा नपाएकाले सामान यहीँ राखेर डेरा खोज्न गएका छन् ।”
हाल भत्काइएको क्षेत्रमै अझै ठूलो परिमाणमा सुकुम्वासीका सामान थुप्रिएको देखिन्छ । ती सामान कुर्न बसेका व्यक्तिसमेत वर्षामा भिज्न बाध्य भएका छन् । पर्याप्त त्रिपाल, अस्थायी आश्रय वा सुरक्षित भण्डारणको व्यवस्था नहुँदा उनीहरू थप विचल्लीमा परेका छन् ।
टिप्पणीहरू: