- असार ०६, २०८०
काठमाडौँ। बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ।
आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ।
‘संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्’, विज्ञप्तिमा उल्लेख छ।
बृहत् आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई संविधानभन्दा बाहिर भइरहेका क्रियाकलापमा सहकार्य गरिरहेको भए आफ्नो कित्ता स्पष्ट पार्न आग्रह गरेकाे छ।
‘जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून्।’
आन्दोलनले नागरिकको सङ्घर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ।
अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले यस विषयमा जेनजीलाई जस्तोसुकै साथ दिन नागरिक समाज तयार रहेको जनाइएको छ।
टिप्पणीहरू: