बुधबार, १६ वैशाख २०८३

सुडानका महिलाका दु:ख : अपहरणमा पर्ने डरले बलात्कृत महिला अस्ताल जाँदैनन्


जेनेभा ।  सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकायहरू र स्थानीय सहायता समूहहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो हिंसाबाट बचेकाहरूका लागि तत्काल र दीर्घकालीन मनोसामाजिक सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन् । यही हिंसात्मक वातावरणमा बलात्कार र अन्य यौन अपराधहरूलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् ।

मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्सका अनुसार जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म उत्तर र दक्षिण डार्फर क्षेत्रमा उनीहरूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा यौन हिंसाबाट बचेका कम्तीमा तीन हजार ३९६ जनाले उपचार खोजेका थिए, जसमा अधिकांश महिला र किशोरीहरू रहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूले यो सङ्ख्या वास्तविक अवस्थाको सानो अंश मात्र भएको सङ्केत गरेका छन् ।

डब्लुएचओको लैङ्गिक हिंसा एकाइकी प्रमुख अवनी अमिनले जेनेभामा आयोजित कार्यक्रममा यौन हिंसाका पीडितहरूले सेवा लिन असाध्यै कठिनाइ भोगिरहेको बताए । उहाँका अनुसार असुरक्षा, स्वास्थ्य संस्थामा पुग्न गाह्रो तथा यस्ता घटनासँग जुझ्न प्रशिक्षित स्वास्थ्यकर्मीको अभावले समस्या झनै जटिल बनाएको छ । साथै, सामाजिक कलङ्कका कारण धेरै पीडितहरूले घटना सार्वजनिक गर्नै नसक्ने अवस्था रहेको उनले औँल्याए ।  “एउटा घटना सार्वजनिक हुने प्रत्येक अवस्थामा अरू धेरै महिलाहरू चुपचाप पीडा सहेर बस्न बाध्य हुने सम्भावना रहन्छ ।” उनले भने ।

डार्फर महिला एक्सन समूहकी निमत अहमदीले हिंसापछि उपचार खोज्ने महिलाहरूले सामना गर्नुपरेको भयावह अवस्थाबारे जानकारी दिइन् । उनका अनुसार सामूहिक बलात्कारपछि धेरै महिलाहरू गम्भीर स्वास्थ्य जटिलता, विशेषगरी फिस्टुलाजस्ता समस्याबाट पीडित हुने गरेका छन् । शान्ति कालमै यस्ता बिरामीका लागि पर्याप्त चिकित्सक नभएको अवस्थामा अहिले त सेवा लगभग शून्यजस्तै भएको उनले उल्लेख गरिन् ।

धेरै स्वास्थ्य संस्था लडाकू समूहको नियन्त्रणमा रहेकाले उनले अपहरण र बलात्कारपछि बचेका महिलाहरू अस्पताल जान समेत डराउने गरेको बताए । एउटा अस्पतालमा आरएसएफका लडाकूहरूले प्रवेश गरी स्वास्थ्यकर्मीमाथि नै गोली प्रहार र बलात्कार गरेको घटनासमेत उनले स्मरण गरिन् । त्यही क्रममा उपचाररत एक प्रसूता (सुत्केरी) को ज्यान गएको उनले जानकारी दिइन् ।

सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको फिर्ता र मानवीय सहयोगमा भएको कटौतीले अवस्था अझ जटिल बनेको उनले बताए। स्रोत अभावका कारण साना स्थानीय महिला संस्थाहरूले मात्रै सेवा दिनुपरेको र त्यसले जोखिम बढाएको उनको भनाइ छ ।

संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि सेवाको अभावले पीडितहरूमा गम्भीर असर परेको जनाएको छ । युएनएफपिएका मानवीय प्रतिक्रिया प्रमुख सोको अराकाकीले यौन हिंसापछि ७२ घण्टाभित्र उपचार पाउनु अत्यन्त आवश्यक हुने बताउनुभयो, तर अहिले औषधि र सेवा दुवैको अभाव रहेको स्वीकार गरे ।

उनले विशेषगरी मानसिक स्वास्थ्य सहयोगको आवश्यकता अत्यधिक बढेको उल्लेख गर्दै पीडितहरूमा गम्भीर मनोवैज्ञानिक समस्या देखिएको बताए । उनका अनुसार आत्महत्याका घटनाहरू समेत बढिरहेका छन् । यद्यपि यस्ता घटनाको आधिकारिक विवरण सङ्कलन गर्न कठिन रहेको छ, तर स्थानीय स्रोतहरूले बलात्कारको डर वा त्यसपछि हुने सामाजिक बहिष्कारबाट बच्न महिलाहरूले आत्महत्या गर्ने घटनाहरू बढेको सङ्केत दिएका छन् ।

अवनी अमिनले जीवनरक्षा प्रयाससँगै मानसिक स्वास्थ्य सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार यस्ता द्वन्द्वका असरहरू केवल तत्काल नभई दीर्घकालीन र पुस्तौँसम्म रहने खालका हुन्छन् । त्यसैले अहिले नै व्यापक तयारी र समर्थन प्रणाली विकास गर्नुपर्ने उनको जोड छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ