बिहिबार, २० कात्तिक २०८२

सन्ताेष पन्तले भने-महिला निर्देशकसँग काम गर्दा मज्जा आयाे


काठमाडौँ । पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ निर्माण गरिएको छ । आगामी मङ्सिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने उक्त चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको बताए ।

उनले भने “मैले चलचित्रसम्बन्धी अध्यन गरेर पहिलोपटक निर्देशन गरेकी छु । एउटा सुखद परिवारमा बुवा र छोराबीचको सम्बन्धलाई यसमा देखाउने प्रयास गरेकी छु ।”उनले आफूले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गरेको बताइन् ।स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीको नाता सम्बन्धमा रहेकी पौडेलले आफ्नो मामाका नामका कारण पहिलो पटकको निर्देशनका क्रममा सबैबाट साथ सहयोग पाएको बताइन् ।

अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलोपटक महिला निर्देशकसँग काम गरेको अनुभव सुनाउँदै भने, “मैले धेरै चलचित्रमा काम गरेँ, तर यसमा भने महिला निर्देशकको निर्देशनमा ।  अध्ययन गरेर कर्म गर्न आएकी निर्देशक पौडेलले धेरै मेहनत गरेकाे पन्तकाे भनाई थियाे । चलचित्र पारिवारिक भएकाले पनि महिला निर्देशकले राम्रो काम गर्नुभएको जस्तो लागेको छ ।  पछिल्लो अवस्थामा भने चलचित्रलाई सफल बनाउन बजारीकरण गर्न सक्नुपर्छ ।”दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्ने तथ्यमा ध्यान पु-याउन निर्देशक पौडेलसहित निर्माण समूहलाई आग्रह गरे ।

यसैगरी अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द भएको बताइन् ।  “निकै रमाइलोसँग चलचित्रमा हामी कलाकारले काम ग-यौँ । मेरा लागि अग्रज कलाकारको सामीप्यतामा काम गर्नपाउनु एउटा अवसर थियो । पारिवारिक कथामा चलचित्र बनेको छ, स–परिवार हेर्न आउँदा व्यक्त गर्न नसकिरहेको तथ्यलाई चलचित्रले व्यक्त गर्छ जस्तो लागेको छ”, उनले भनिन्।

उक्त चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच हुने उतारचढावलाई देखाइएको छ । सो चलचित्रमा खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ