शुक्रबार, ०९ माघ २०८२

मनोनयनपत्र दर्ताको तयारी पूरा, उम्मेदवार बन्न चाहिन्छ १३ थरी कागज


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ । 

देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिए ।

उनले यसपटक आयोगले आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको र  उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने बताए। “आचारसंहिता पालना गर्छु, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मञ्जुर छ, निर्वाचन कानुनसम्बन्धी सबै व्यवस्थाको पालना गर्छु, जस्ता विषय उम्मेदवारले स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ”, सहायक प्रवक्ता जिसीले भने । 

उम्मेदवारीसँगै १३ प्रकारका कागजात पेस गर्नुपर्ने  

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था थरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही मङ्गलबार हुने मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

उम्मेदवारी दिँदा सङ्घीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उनले सुनाए ।

उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुपर्नेछ । 

यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ