- असार ०६, २०८०
काठमाडौं । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
परियारले काठमाडाैंका अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गरे ।
सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सांसद परियारले सत्यलाई ढाकछोप गर्न खोज्नु ‘हत्केलाले सूर्य छेक्न खोज्नु’ जस्तै भएको टिप्पणी गरे। ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ?’ उनले प्रश्न गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैँ उभिएको दल भएको उल्लेख गर्दै सत्ता वा स्वार्थका कारण प्रेसमाथि कुनै पनि प्रकारको दबाब, त्रास वा अराजकता सिर्जना हुन नहुने बताए ।
टिप्पणीहरू: