- असार ०६, २०८०
काठमाडौं। आम जनता पार्टी (आजपा)संग पार्टी एकीकरणका साथै पार्टी प्रवेश गर्ने लहर चलेको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा पार्टी एकीकरण र पार्टी प्रवेश दिनदिनै भइरहेको छ।
काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आज (आइतवार) आजपा र पहिला देश अभियानबीच पार्टी एकता भएको छ। पाँच बुँदे सहमति गर्दै आजपा र अभियानबीच पार्टी एकीकरण भएको घोषणा भएको हो।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले सहमतिपत्रमा हस्ताक्षर गर्दै २१ फागुनको निर्वाचनमा मोबाइल चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमति गरेका छन्।

‘आगामी २०८२ फाल्गुन २१ गतेमा सम्पन्न हुन गईरहेको संसदीय चुनावमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयक्त भूमिका खेल्ने समझदारी गर्दछौँ,’ सहमति पत्रमा उल्लेख गरिएको छ।
यसैगरी, पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेका छन्।
विद्या प्रसाद शर्मा (दैलेख), राधेश्याम गुप्ता (रुपन्देही) सहितका १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन्।

‘विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय योगदान गर्दै आउनुभएका प्रभावशाली नेता तथा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्यद्धय विद्या प्रसाद शर्मा (दैलेख –१) र राधेश्याम गुप्ता (रूपन्देही – ३) आजबाट हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएकोमा उहाँलाई सहर्ष हार्दिक स्वागत, सम्मान, बधाई सहित थप उज्जवल भविष्यको भव्य शुभकामना व्यक्त गर्दछु,’ पार्टी प्रवेश गराउँदै आजपा अध्यक्ष साहले भने।
यसैगरी आजै, जनमत पार्टीका केन्द्रीय सदस्य एवं मण्डल सेवा समाजका पूर्व अध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन्। आजपा अध्यक्ष साहले उनीहरुलाई टिका, माला लगायर पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन्।
टिप्पणीहरू: