शनिबार, ०८ कात्तिक २०८२

कार्यकर्तालाई धम्क्याउँदै नेतृत्वबाट नहट्ने दाउमा ओली


फाइल तस्बिर

काठमाडौँ। आफ्नोविरुद्ध चौतर्फी आलोचना भइरहँदा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पार्टीबाट बाहिरिने मनस्थितिमा छैनन्। विभिन्न संयन्त्रमार्फत कार्यकर्तालाई धम्की दिन थालेका छन्।

आइतबार एमाले महासचिव शंकर पोखरेलले प्रदेश एवं जिल्ला इन्चार्जहरुको जुम मिटिङ गरेर नेतृत्वको आलोचना नगर्न निर्देशन दिएका थिए।

कार्यकर्ताका माझमा ओली जत्तिकै अलोकप्रिय भइसकेका महासचिव पोखरेललाई थाहा छ, ‘ओलीसँगै आफ्नो पनि बहिर्गमन निश्चित छ।’

सोही कारण उनी अझै ओलीको फेरो समाएर नेतृत्वमा टिक्ने उपाय खोज्दैछन्। ‘नेतृत्वविरुद्ध आलोचना नगर्न सुझाव’ त्यही अस्त्र थियो, जुन अस्त्रको उपाय ओलीले सुझाएका थिए।

१० वर्षसम्म पार्टी नेतृत्वमा रहेका ओलीलाई शंकर पोखरेल, विष्णु रिमाल, युवराज खतिवडा, प्रदीप ज्ञवालीलगायतले यति धेरै पुल्पुल्याएका थिए कि, ओलीको कुनै पनि गलत कदमको आलोचना गर्नेहरुको रेकी गर्न लगाई हाल्थे।

हठी, दम्भी र घमण्डी स्वभावका ओली फेरि पनि पुरानै हथ्कण्डा अपनाएर नेतृत्वमा टिकिरहनका लागि अस्त्र प्रयोगमा जुटेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य गोकुल वास्कोटा, कर्ण थापालगायतले ओली प्रवृत्तिबारे टिप्पणी गरे पनि बहुसंख्यक एमाले नेता मौन छन्।

त्यसो त (२०–२२) भदौमा गोदावरीमा जम्मा भएका २५ सय बढी प्रतिनिधिले ‘निर्विकल्प ओली’ भन्दै हिँडेका थिए। यसले यो पनि संकेत गर्छ कि ओलीको स्कुलिङले एमाले नेताहरुलाई यति अचेत र बोधो बनाइसकेको छ। राजनीतिका बारेमा पूर्वानुमान गर्ने क्षमतासमेत गुमाइसकेका छन्। त्यस्तो नहुँदो हो त यति धेरै हक्की र दम्भी ओली ज्यान जोगाउनकै लागि नेपाली सेनाको ब्यारेकमा आश्रय खोज्दै हिँड्नुपर्ने अवस्थामा पुग्ने थिएनन्।

जेनजी आन्दोलनको रापतापमा प्रधानमन्त्री भएकी सुशीला कार्कीको नियुक्ति असंवैधानिक भन्दै विज्ञप्ति निकालेर दुई दिनपछि एमाले महासचिव पोखरेलले चुनावमा सहभागी हुने संकेत गरेका छन्।

ओलीसँगै आफ्नो पनि बिदाई हुने चिन्ता

एमाले यो हालतमा आउनमा मुख्य भूमिका ओलीकै छ। दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउनेदेखि मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाहीसम्म। अध्यक्ष पदमा बसेर ओलीले यस्ता दर्जनौँ अपराध गरेका छन् भने महासचिव पोखरेल, राजनीतिक सल्लाहाकार विष्णु रिमाल, सचिव प्रदीप ज्ञवालीलगायत साक्षी बसेका छन्।

नेतृत्व परिवर्तनको बहसमा केबल ओली मात्रै पात्र बन्ने छैनन्। ओलीसँगै उनका कोटरीमा बस्ने सबैको नाम आउने निश्चित भएकाले अहिले उनीहरु ओलीलाई नै टिकाउने धुनमा छन्।

‘ओलीसँगै उनका छेउछाउमा बस्ने केही व्यक्तिका पनि राजनीति सकिने भएकाले अहिले ओलीका विरुद्ध नबोल्न निर्देशन जारी भएको छ,’ एक प्रदेश अध्यक्षले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ