बिहिबार, ०५ भदौ २०८२

अब महिला प्रहरीको उपस्थिति २० प्रतिशत पुर्याउनुपर्छ: गृहमन्त्री


फाइल तस्बिर

काठमाडौँ। नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ। सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन्।

गृहमन्त्री रमेश लेखकले आज यहाँ सम्मेलन उद्घाटन गर्दै यो सरकारका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरे।

उनले पुरुषभन्दा महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत हुँदै आएको बताउँदै महिला प्रहरीले प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गरिरहेका उल्लेख गरे।

गृहमन्त्री लेखक नेपाल प्रहरीले महिलालाई माथिल्लो तहमा पुग्नका लागि प्रेरणा दिँदै आएको बताउँदै पछिल्लो समय महिला हरेक क्षेत्रमा सक्षम रहेका धारणा राखे।

विसं २०६३/६३ को आन्दोलनपछि गणतान्त्रिक व्यवस्था र समावेशी निर्माण गर्ने चरित्रका विशेषताका कारण प्रहरीमा १२ प्रतिशत महिलाको सहभागिता भएको उनले जानकारी दिए।

समावेशी चरित्रको राज्य निर्माण गर्ने विशेषताले नागरिकलाई संविधानमा नै उल्लेख गरी धेरै अधिकार दिएको यसले पुष्टि हुने उनले बताए।

उनले आजका दिनमा नेपाल प्रहरीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरिएकाले महिलाको सहभागिता बढ्दै गएको बताए।

गृहमन्त्री लेखकले भने, ‘अब आरक्षणमा २० प्रतिशत होइन, महिला प्रहरीको उपस्थिति २० प्रतिशत पुर्याउनुपर्छ, त्यसमा हामी प्रतिबद्ध छौँ, तपाईंहरू अघि बढ्नुस् मन्त्रालयको तर्फबाट पूर्णसहयोग रहन्छ।’ उनले महिलाको आरक्षण मात्रै ३३ प्रतिशत हुनुपर्नेमा जोड दिँदै यसलाई क्रमशः बढाउँदै लगिने धारणा राखे।

पछिल्लो समय बलात्कार, यौजजन्य हिंसाका घटना बढिरहेका भन्दै त्यसमा महिला र बालबालिका बढी पीडित भएरहेका उनले जानकारी दिए। गृहमन्त्री लेखकले तीन ‘स’ समानताको व्यवहार, सशक्तिकरण र सम्भावनाको अवसरमा महिलालाई समाहित गर्नुपर्नेमा जोड दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ