- असार ०६, २०८०
वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए ।
“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नकालागि लागि पर्ने उनले बताए ।
देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताए । स्व श्रेष्ठले पार्टीलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उनको भनाइ थियो ।
विपद्को समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ । शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका वक्ताहरूले स्व श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए ।
टिप्पणीहरू: