मङ्गलबार, ११ कात्तिक २०८२

गृहमन्त्रीका दुःख- कानुन सम्मत काम गर्न खोज्दा आफ्नैले भाँजो हाल्छन्


काठमाडौं। सुशीला कार्की नेतृत्वका मन्त्रीहरुमध्ये सर्वाधिक दबाबमा छन्, गृहमन्त्री ओमप्रकाश अर्याल। वकालत पेशामा रमाउँदै आएका अर्याल जेनजी आन्दोलनपछि गृहमन्त्री बनेका थिए।

गृहमन्त्री भएलगत्तै कानुन सम्मत काम गर्ने योजनामा रहेका अर्याललाई आफ्नै मान्छेहरुले तनाव दिन थालेका छन्।

कुनै समय काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकारसमेत रहेका अर्यालका लागि अहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषय टाउकाे दुखाइ बनेकाे छ।

जेनजी आन्दोलनमा क्रममा भएको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोगको बनेकाले उनी सोही समितिको प्रतिवेदन कुरेर बसेका छन्। प्रतिवेदन आएपछि उक्त प्रतिवेदनमा उल्लेख भएबमाेजिम कारबाही गर्ने योजनामा उनी छन्। तर, काठमाडौँ महानगरका प्रमुख बालेन शाहलगायत अन्य केही समूहले भने तत्काल ओली र लेखकलाई पक्राउ गर्न दबाब दिएका छन्।

गृहमन्त्री अर्यालले जो कसैलाई पनि जाँचबुझ आयोगको प्रतिवेदनअनुसार कारबााही गर्ने अडान राखेपछि बालेननिकट समूहले सामाजिक सञ्जालमार्फत ‘गृहमन्त्री हटाउ’ अभियान सुरु गरेका छन्।

‘कायर गृहमन्त्री तुरुन्तै राजीनामा गर, तिमीलाई गृहमन्त्री बनाउन ७५ जनाले बलिदान दिएको होइन’ भन्दै सामाजिक सञ्जालमा गृहमन्त्रीविरुद्ध अभियान सुरु भएको छ।

त्यसो त तीन दिनअघि मात्रै बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेर असन्तुष्टि व्यक्त गरिसकेका छन्। मन्त्रीमण्डमा भएका कोही पनि व्यक्तिलाई अहिल्यै हटाउँदा नराम्रो सन्देश जाने भन्दै प्रधानमन्त्रीले तत्काल कसैलाई नहटाउने सन्देश दिएकी छिन्।

सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी

यता, सुशासनका लागि गठन भएको सरकारका मन्त्रीहरुले महिना दिन पुग्दासमेत सम्पत्ति विवरण सार्वजनिक नगरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

सामान्य त सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ तर, केपी ओली नेतृत्व सरकारका कुनै पनि मन्त्रीले १३ महिनासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ