- असार ०६, २०८०
काठमाडाैँ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गृहमन्त्री रमेश लेखकले राजीनामा नआउने बताएका छन्।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाएपछि सञ्चारकर्मीहरूले साेधेकाे प्रश्नमा मन्त्री गुरुङले यस्ताे बताएका हुन्।
उनले एउटा कर्मचारीमाथि छानबिन सुरू हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार नै नचल्ने दाबी गरे।
‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरू गरेको हाे, गृह मन्त्रालयको एउटा कर्मचारीमाथि। एउटा कर्मचारीमाथि छानबिन सुरू हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार नै चल्दैन। त्यस कारण गृहमन्त्रीकाे राजीनामा आउँदैन।’
उनले संसद अवरुद्ध खाेल्ने विषयमा सत्तापक्ष र प्रतिपक्षको बीचमा छलफल चलिरहेको बताए।
मन्त्री गुरुङले उठेका प्रश्नहरूकाे विषयमा मन्त्रीले संसदबाट आफ्नाे धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने कुरा सरकारले गरिरहेकाे बताए।
‘अहिले जसरी संसद अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद खुल्न सक्ने सम्भावना पनि छ। गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन। बढीमा संसदीय छानबिन समिति कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ’, उनले भने, ‘हाम्रो म्यान्डेड मन्त्रीले सबै उठिरहेका प्रश्नहरूकाे विषयमा संसदबाट आफ्नाे, सरकारकाे धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने कुरा गरिरहेका छौं।’
टिप्पणीहरू: