बिहिबार, १५ साउन २०८२

लागुऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता


फाइल तस्बिर

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याए। लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो।

लागुऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाभियान सञ्चालन गरे।

काठमाडौँ उपत्यकामा लागुऔषधविरुद्धको प्रहरीमार्फत महाभियान सञ्चालन भइरहेका छन्। गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आमनागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाभियानमा साथ दिनुपर्नेमा जोड दिए।

मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषधसम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि द्रुतगतिमा अघि बढाएका मन्त्री लेखकले गति दिएअनुसारको सफलता प्राप्त हुँदै गएको छ।

मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागुऔषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ। जुन पक्राउ सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा एक हजार २०१ बढी हो।

अघिल्लो आव २०८०/८१ मा छ हजार ७४२ जना पक्राउ परेका थिए। गत आव २०८१/८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार सो अवधिमा लागुऔषधका पाँच हजार ११० मुद्दा दर्ता भएका छन्।

यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ। त्यसैगरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ।

अघिल्लो आवभन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै सात किलोग्राम विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ। ब्युरोको तथ्याङ्कअनुसार आव २०७९/८० मा लागुऔषधसम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०/८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो।

मन्त्री लेखकले लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल हुँदै गएको छ। सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइमलगायत आपराधिक घटनाका पछाडि पनि लागुऔषध प्रयोग एउटा कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ।

खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ। प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागुऔषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन्।

ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ। अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९/८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो। विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ।

त्यसैगरी सशस्त्र प्रहरी बलले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ। बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागुऔषध नियन्त्रणमा जुटेको छ।

सशस्त्र प्रहरी बलले यो अवधिमा ठूलो मात्रामा लागुऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ