बिहिबार, २० कात्तिक २०८२

पुनर्गठित कांग्रेससहित चुनावमा जान महामन्त्री थापाकाे आह्वान


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् । यसो हुन सके जेनजी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको भनाइ छ ।

बिहीबार बिहान  भिडियो सन्देश जारी गर्दै थापाले यो अधिवेशन गरेर अगाडी बढेपछि मात्रै नागरिकसँग सम्वादको नयाँ ढोका खुल्ने बताएका छन्। 'त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकहरुले फेरि एकपटक तिमीलाई मौका दिन्छौं भनेर हामीसँग आउने अवस्था आउँछ । त्यसकारणले अधिवेशन चाहिएको हो,’ थापाले भनेका छन् ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ । कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६–१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले भदौ २३ गतेभन्दा अगाडि र पछाडिको परिस्थितिमा धेरै उथलपुथल भइसकेको भन्दै नयाँ परिस्थितिमा नयाँ कांग्रेस लिएर जनतामा जानुपर्ने भएकाले चुनाव अघि महाधिवेशन हुनैपर्ने बताए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ