- भदौ ०१, २०८१
काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफ्नो बलियो उपस्थिति रहेको बताएकी छन् । आफूलाई दर्शकले ‘पाँच पाण्डव’मा फाइटर लेडीका रुपमा देख्न पाउने उनको भनाइ छ ।
दीपाश्रीले यो सिनेमामा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् । “यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।”
आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा उनी ढुक्क छिन् । “डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्,” दीपाश्री भन्छिन्, “ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।”
सिने करियरमा अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक भएकाले पनि यसलाई उनले नयाँ अनुभवका रूपमा लिएकी छन् ।
“मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।”
यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।
टिप्पणीहरू: