सोमबार, २६ साउन २०८२

गाईजात्रा विषेश : भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि


काठमाडौँ । आज गाईजात्रा पर्व । गाइजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यकलाकारहरु सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए । 

हाँस्क कलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । 

‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’– जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरे । 

अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे ।  उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’ 

उनले आफूले प्रत्येक २२ वर्षदेखि गाइजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाइजात्रै प्रस्तुति दिएको उनले बताए । 

त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए । 

कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकतामात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरुलाई थाहा होस्,’– उनले भने । 

वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य  भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए । 

अहिले गाइजात्रा दैनिक रुपमा सडकमै भइरहेको बताए । उनले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे । 


‘जिउँदै भट्टीमा मान्छे लगाउनेको मिनाह हुन्छ केस । 
टिकटक बनाएर हाल्नेलाई छानीछानी थुन्ने देश । 
सरकारी कर्मचारीलाई घुस नखाउ नभनेर सिकाउन नसक्ने देश । 
सहकारी ठगलाई विदेशबाट झिकाउन नसक्ने देश । 
मलामीमा शंख बजाएर जन्तीको बाजा खोज्ने देश । 
गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश ।’ 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ