शुक्रबार, १३ कात्तिक २०८३

भुटानमा हिमताल फुट्दा बंगाल र असममा आकस्मिक बाढीको चेतावनी


थिम्पु, भुटान । उत्तर-पश्चिमी भुटानको गासा जिल्लामा रहेको शिन्ताफु ताल फुटेर बाढी आएको छ, जसका कारण पश्चिम बंगाल र आसामका केही क्षेत्रमा आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ। बिहीबार साँझ भएको यस घटनाले गासा जिल्लास्थित 'मो छु' नदीको किनारमा रहेको लोकप्रिय प्राकृतिक तातो पानीको मुहान (हट स्प्रिङ) 'गासा त्साचु' का संरचनाहरू पूर्ण रूपमा बगाएको छ। उक्त क्षेत्रलाई पहिले नै खाली गराइएकाले मानवीय क्षति भने भएको छैन।

शिन्ताफु ताललाई सम्भावित रूपमा खतरनाक १७ हिमनदी तालहरूमध्ये एक मानिन्छ। यो ताल मो छु नदीको उद्गम स्थलमा अवस्थित छ। सन् २०२१ को अगस्ट २६ मा आएको ठूलो बाढीले गासा त्साछु बगाएको थियो । त्यसबेला उर्लिएको मो छु नदीले आफ्नो बहाव परिवर्तन गरी तातो पानीको कुण्ड तिर मोडिएको थियो।

बाढीको पानी अहिले पुनाखा जोङबाट करिब आठ किलोमिटर टाढा रहेको काबेसा गेवोगको श्रीगंग क्षेत्रसम्म पुगिसकेको छ।

भुटानले पश्चिम बंगाल र असमका सरकारहरूलाई सतर्क गराएको छ, किनकि भुटानसँग सीमा जोडिएका जिल्लाहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको छ। जोखिममा रहेका क्षेत्रहरूमा असमको धुबरी तथा पश्चिम बंगालका दार्जिलिङ पहाडी क्षेत्र, अलिपुरद्वार र जलपाइगुडी जिल्लाहरू पर्छन्।

पश्चिम बंगालको कूच बिहारमा, प्रशासनले साङ्कोश नदीको किनारमा बसोबास गर्ने मानिसहरूका लागि सतर्कता जारी गरेको छ। यो नदी उत्तरी भुटानबाट सुरु हुन्छ र 'मो छु' तथा 'फो छु' लगायतका प्रमुख सहायक नदीहरूको संगमबाट बन्छ; अन्ततः यो नदी असममा पुगेर ब्रह्मपुत्र नदीमा मिसिन्छ।

एनडिटिभीबाट

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ