- असार ०६, २०८०
बनियानी (झापा)। अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो। तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन। कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए।
सरकारलेसमेत बेलैमा चैते धानको मूल्य तोक्दा किसानमा उत्साह थपिएको थियो। बजार भाउ पनि राम्रै मिलेको थियो। तर, पछिल्लो पटकको चैते धान र बर्खे धानले अघिल्लो वर्षको जस्तो मूल्य पाएन।
गतवर्ष किसानले चैते धानको मूल्य प्रतिमन रू ६ सय देखि रु ७ सय पाएका थिए भने बर्खे धान रू एक हजार २०० देखि रु एक हजार ३०० सम्म पाएका थिए। गत वर्षको तुलनामा यो वर्ष करिब १५ देखि २० प्रतिशत चैते धानको क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउँछन्।
‘गत वर्ष किसानले चैते धानको मूल्य नै पाएनन्’, उनले भने, ‘किसानलाई लागत उठाउन पनि मुस्किल पर्यो।’
मूल्य नपाएकै कारण यो वर्ष झापा जिल्लामा चैते धानखेतीको क्षेत्रफल घट्ने प्रमुख विष्ट बताउँछन्। ‘तीन हजारदेखि चार हजार हेक्टरसम्म चैते धानखेती घट्ने अनुमान गरेका छौँ’, उनले भने।
आव २०८१/८२ मा सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको सर्मथन मूल्य न्यूनतम् प्रतिक्विन्टल रू दुई हजार ८६९ निर्धारण गरेको थियो। तर, किसानले मुस्किलले प्रतिक्विन्टल रू एक हजार पाँच सयदेखि रु एक हजार ७५० सम्म मात्र पाएका थिए।
सरकारले आव २०८०/८१ को तुलनमा आव २०८१/८२ मा चैते धानको मूल्य प्रतिक्विन्टल रू ९३.४१ बढायो। तर, किसानले पुरानै मूल्य पनि पाएनन्। चालु आर्थिक वर्षका लागिसमेत सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य बढायो।
मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल रू तीन हजार ४६३.८१ तोक्यो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू तीन हजार ६२८.३३ तोक्यो।
अघिल्लो वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य रू तीन हजार ४१० थियो भने वर्ष मध्यम धानको न्यूनतम मूल्य रू तीन हजार ५८० तोकिएको थियो। तर, किसानले बढेको त परै जाओस् पुरानै मूल्य पनि पाएनन्।
बर्सेनि सरकार मूल्य बढाउँदै जाने र किसानले मूल्य नपाउने शृङ्खला चलिरहेको छ। मिल उद्योगी र व्यवसायीले नै किसानलाई आफूखुसी धानको मूल्य दिने गरेका छन्। मिल उद्योगीको गुनासो बेग्लै छ। उनीहरुले उद्योग नै सङ्कटमा परेको गुनासो गर्छन् गरिरहेका छन्।
आव २०८०/८१ मा चैते धानको किसानले उचित मूल्य पाएका थिए। उक्त आवमा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो। मूल्य राम्रो पाएपछि आव २०८१/८२ मा चैते धानखेतीको क्षेत्रफल एक सय हेक्टर बढेर १९ हजार ९५० हेक्टर पुगेको थियो भने एक लाख छ हजार १३४ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए।
प्रविधि सिकाउँदै ज्ञान केन्द्र
किसानको लागत खर्च घटाउन र उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ। विगतमा झैँ यस वर्षसमेत शिवसताक्षी र गौरादहको २४ बिघामा नमूना धानखेती गरिएको प्रमुख विष्टले बताए। धान रोप्ने मेसिनको प्रयोग गरेर यी दुई स्थानमा नमूनाखेती गरिएको उनले बताए।
‘किसानलाई कृषि प्रविधि सिकाउने र त्यसमा अभ्यस्त बनाउने काम गरिरहेका छौँ’, उनले भने, ‘जसले किसानको लागत घटाउनुका साथै कृषि क्षेत्रमा आकर्षित गर्ने विश्वास छ।’
टिप्पणीहरू: