- असार ०७, २०८०
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सिंहदरबारलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ।
जेनजी पुस्ताको प्रदर्शन उग्र बन्ने देखिएपछि जिल्ला प्रशासनले कर्फ्युको दायरा बढाइएको हो।
शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रकाे उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म कर्फ्यु लगाइएकाे छ।
यस्तै हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रकाे केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यू आदेश जारी गरिएको छ।
त्यसैगरी सिंहदरबार क्षेत्रकाे भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरवार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म कर्फ्यु लगाइएकाे छ।
साथै पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू जारी गरिएको छ।
तोकिएको निश्चित सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।
टिप्पणीहरू: