- भदौ ०२, २०८१
काठमाडौँ। संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ।
बोर्डले समयआवाज डटकमका सम्पादक ध्रुव लम्सालसहित १५ चलचित्रकर्मीलाई सम्मान गरेकाे हाे। चलचित्र पत्रकारितामार्फत सांस्कृतिक रुपान्तरणमा भूमिका निर्वाह गरेकाे भन्दै लम्साललाई पुरस्कार दिइएकाे हाे।
यसैगरी युवा तथा वरिष्ठ कलाकार, निर्माण क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरिएकाे छ।
बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित भएका थिए।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको बताए।
उनले भने, ’अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा चलचित्र क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु।’
कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई मन्त्री खरेलले २० हजार नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए। पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका छन्।

टिप्पणीहरू: