सोमबार, ०९ कात्तिक २०८३

ब्राजिलमा ८० वर्षीय वामपन्थी नेता लुइज राष्ट्रपति निर्वाचित


काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपति निर्वाचनमा चौथो पटक विजयी भएका छन् ।

उनले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको दोस्रो चरणको मतगणनामा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन् । 

यसअघि लुलाले सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल ब्राजिलको नेतृत्व गरेका थिए । चार वर्षअघि तेस्रो पटक राष्ट्रपति बनेका उनी यस जितसँगै देशको राजनीतिमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् ।

लुलाको जितलाई ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक शक्तिको बढ्दो प्रभावबीच आएको महत्त्वपूर्ण परिणामका रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस क्षेत्रका रूढिवादी नेताहरूसँग निकट सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला लुलाको पुनरागमनले अमेरिकी रणनीतिमा चुनौती थप्न सक्ने विश्लेषण गरिएको छ ।

चुनावी अभियानका क्रममा लुलाले ऋणमाफी, सप्ताहान्तमा निःशुल्क सार्वजनिक यातायात र गरिब विद्यार्थीलाई आर्थिक सहायता दिने घोषणासमेत गरेका थिए ।

ट्रेड युनियनबाट राजनीति सुरु गरेका ८० वर्षीय लुलाले आफ्नो राजनीतिक जीवनमा गरिबी न्यूनीकरण र सामाजिक कल्याणका कार्यक्रमलाई प्राथमिकता दिएका थिए ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा जेलसमेत परेका उनी पछि रिहा भएर राजनीतिमा फर्किएका थिए । सन् २०२२ मा जाइर बोल्सोनारोलाई पराजित गर्दै उनले पुनः राष्ट्रपति पद हासिल गरेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ