- असार ०६, २०८०
रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा ४५ वर्षको बुवाले २१ वर्षको छोरालाई घरायसी विवादमा ज्यान लिएका छन् ।
तिलोत्तमा १० का वडाध्यक्ष गोपाल घिमिरेका अनुसार दुई ४५ वर्षीय सहस्रराम चौधरीले कान्छो छोरा सरोज चौधरीको हत्या गरेका हुन् । घिमिरेले बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ती युवाको उपचारका क्रममा मृत्यु भएको बताए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गरिएको तर त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको थियाे । बिहीबार साँझ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो ।
तर, उक्त सूचनाका आधारमा घटनास्थल पुगेर गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना दुर्घटना नभई घरायसी विवादका क्रममा सरोजका बाबु अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
टिप्पणीहरू: