सोमबार, ०९ चैत २०८२

खाडी जान लागेका कामदारहरू भन्छन्- साथीहरूले नआउ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ


तस्बिर: एआई

काठमाडौँ। छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सझुाव दिन्छन्। राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन। युद्धको प्रवाह नगरी उनी दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन्। उनी भन्छन्, ‘साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ।’

उनी घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बीचको युद्ध सुरु भएको थियो। सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए। होटलमा सेफको जागीर गरेर उनले मासिक दुई लाख आम्दानी गर्छन्। जुन रकम उनले घरमा चोखो पठाउँछन्।

गाउँमा बस्दा जतिसुकै मेहनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए। यही मार्च २५ तारिखमा कतार प्रस्थान गर्न लागेका उनले भने, ‘जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन।’

युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन्। कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो। फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा लामाले बताइन्।

छोराछोरीसहित काठमाडौँमा बसेकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमान्लाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउँछिन्। उनी भन्छिन्, ‘घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ? बाध्यताले त्यही बस्नुभएको छ।’ रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनलाई खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाइन्।

साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी भए। श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको बताए। उनले भने, ‘उता गए ज्यानको डर, यता बसे परिवार पाल्न नसकिने डर। गरिबलाई जता सुकै डरै डर छ।’

यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन्।

कुवेतको एक क्याफेमा वरिष्टाको कामदार रहेका विमल (नाम परिवर्तन) राईले मिलेसम्म स्वदेश फर्किन चाहन्छन्। अहिले सबै सामान्य जस्तो देखिन्छ तर, एरपोर्टमा, तेल खानीतिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको बताउँछन्। ‘फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु’, उनी भन्छन्, ‘कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक सङ्कट देखिन थालेको छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएई, कतार, कुवेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो।

वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशीक रोजगारमा पुनःजाने श्रमिकको चाप बढेको छ। विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार १०० सम्म रहेको जानकारी दिए।

वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले युद्ध क्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ। उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ।

श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको मागअनुसार परराष्ट्र मन्त्रालयले चैत ३ सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरिएको जनाएको छ।

विज्ञप्ति नै जारी गरेर मन्त्रालयले स्थगन भएका मुलुकहरूमध्ये साउदी अरेविया, युएइ, कतार, ओमान, यमन, जोर्ड, टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यद्यपी सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान देशमा भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनःजान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ। घर फर्किन चाहनेसँगै श्रम गर्न पुनःविदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छुट्टीमा विदेशबाट घर आएका नेपाली कामदारले समयमा जान नसेकमा रोजगार गुम्ने हुँदा उनीहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको बताए। प्रवक्ता क्षेत्रीले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली कामदारले अति आवश्यक भए मात्रै घर आउने नभए जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहन आग्रह गरेका छन्।

‘अवस्था सामान्य हुँदैछ, जहाँ हो, त्यहीँ सुरक्षित बस्न आग्रह गरेका छौँ’, उनले भने। परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ लाख २९ हजार नेपाली खाडी मुलुकमा श्रमिक छन्। रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ