सोमबार, २९ असार २०८३

कसले दियाे ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी ?


तेहरान ।  अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् । ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने सङ्केत दिएका छन् ।

इरानी दैनिक हामशहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्बिरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ । उक्त सामग्रीमा ग्राहमको तस्बिरअघि ट्रम्प घुँडा टेकेर बसेको चित्रसमेत समावेश गरिएको छ ।

अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ । पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उनको ‘अचानक बिरामी’ परेर मृत्यु भएको उल्लेख गरेको छ ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन् । यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ ।

प्रतिवेदनअनुसार यी सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन (एमएजिए)’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्र सिद्धान्त अघि सारेका छन् । कतिपयले यस घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन् । यद्यपि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।

दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम लामो समयदेखि अमेरिकाको आक्रामक विदेश नीतिका समर्थक मानिन्थे । उनले युक्रेनलाई सैन्य सहयोग निरन्तर उपलब्ध गराउन, गाजामा इजरायललाई खुला समर्थन गर्न तथा इरानको वर्तमान शासन परिवर्तन गर्नुपर्ने धारणा बारम्बार सार्वजनिक गरेका थिए ।

गाजाको युद्धका क्रममा इजरायलले आवश्यक परे आणविक हतियार प्रयोग गर्न सक्ने अभिव्यक्ति दिएपछि उनी थप विवादमा परेका थिए । त्यसैगरी फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमणपछि पनि उनले इरानी सरकारलाई सत्ताच्युत गर्न खुला आह्वान गरेका थिए ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ग्राहमले इरानको वर्तमान शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलन परिवर्तन हुने र त्यसबाट आर्थिक अवसरसमेत सिर्जना हुने तर्क गरेका थिए ।

इरानसँगको पछिल्लो द्वन्द्व सुरु हुनुअघि उनले पटक–पटक इजरायल भ्रमण गरी गुप्तचर संस्था मोसादका अधिकारीसँग भेटवार्ता गरेका थिए । ती भेटबाट प्राप्त सूचनाले आफ्नै सरकारले उपलब्ध नगराएको जानकारी दिएको उनको भनाइ थियो ।

द वाल स्ट्रिट जर्नलका अनुसार ग्राहमले ती भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल गरेका थिए । प्रतिवेदनमा नेतान्याहुले उपलब्ध गराएको गुप्तचर सूचनाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा सहमत गराउन भूमिका खेलेको दाबी ग्राहमले गरेकाे उल्लेख छ ।

यसअघि पनि उनले संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत क्षेत्रीय शक्तिलाई इरानविरुद्धको सम्भावित सैन्य कारबाहीमा सहभागी हुन आग्रह गर्दै आएका थिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ